Banijya News

कमजोर डलर र अमेरिकी नीतिगत निर्णयको प्रभाव, सुन–चाँदीको मूल्यमा उल्लेख्य उछाल

1
1.0K Shares

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः तीव्र गतिमा बढेको छ। अमेरिकी डलर कमजोर बन्दै जानु र अमेरिकी ट्रेजरी विभागले सरकारी ऋणपत्र (बोण्ड) पुनः खरिद कार्यक्रम विस्तार गर्ने संकेत दिनुले लगानीकर्ताको ध्यान सुरक्षित सम्पत्तितर्फ मोडिएको छ। यही कारण सुन तथा अन्य बहुमूल्य धातुको माग बढ्दा मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो।

शुक्रबार कारोबार अवधिसम्म स्पट गोल्डको मूल्य १.०३ प्रतिशत अर्थात् ४६ डलरले बढेर प्रतिऔंस ४ हजार ५३३ डलर पुगेको छ। अघिल्लो कारोबार सत्रमै सुनको मूल्य जुन महिनायता कै उच्च स्तरमा पुगेको थियो। पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य करिब ३.६ प्रतिशतले वृद्धि भइसकेको छ, जसले बजारमा सुनप्रतिको आकर्षण अझ बलियो बनेको संकेत दिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको कमजोरी सुनको मूल्य वृद्धिको मुख्य कारण बनेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार डलरमा हुने भएकाले डलर कमजोर हुँदा अन्य मुलुकका लगानीकर्ताका लागि सुन खरिद तुलनात्मक रूपमा सस्तो पर्छ। यसले माग बढाउने र मूल्य माथि लैजाने काम गर्छ।

यसैबीच, अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले सरकारी ऋण व्यवस्थापनलाई सहज बनाउन ट्रेजरी बन्डको बाइब्याक कार्यक्रम थप विस्तार गर्न सकिने बताएका छन्। अमेरिकी ट्रेजरी विभागले आगामी त्रैमासिकमा दीर्घकालीन ऋणपत्र पुनः खरिदको आकार दोब्बर बनाउने र प्रत्येक कारोबारमा कम्तीमा ४ अर्ब डलर बराबरको बाइब्याक गर्ने योजना सार्वजनिक गरेको छ।

यद्यपि, फेडरल रिजर्भका केही अधिकारीहरूले ट्रेजरी विभागको यस्तो कदमले मौद्रिक नीतिमा अप्रत्यक्ष प्रभाव पार्न सक्ने भन्दै सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। आगामी दिनमा सुनको मूल्यको दिशा फेडको ब्याजदर नीति, मुद्रास्फीति नियन्त्रणका प्रयास तथा अमेरिकी अर्थतन्त्रका सूचकहरूले निर्धारण गर्ने अनुमान गरिएको छ।

सुनसँगै चाँदीको बजार पनि उत्साहित देखिएको छ। आज चाँदीको मूल्य ४.६८ प्रतिशतले बढेर प्रतिऔंस ६८.७८ डलर पुगेको छ। साथै, मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनाव र इरानमाथि थप कडा अमेरिकी प्रतिबन्धको सम्भावनाले पनि सुरक्षित लगानीका रूपमा बहुमूल्य धातुको मागलाई थप टेवा दिएको विश्लेषण गरिएको छ।

1

Scroll to Top