काठमाण्डौ – आज अन्तर्राष्ट्रिय बाघ दिवस, संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस मनाइने गरेको हो । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले बाघ दिवस मनाउने घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । त्यस यतादेखि हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।
यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको छ । सन् २०१० मा रुसमा भएको बाघ पाइने देशको सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएका थिए । सन् २०२२ सम्ममा यी १३ मुलुकले बाघको संख्या दोब्बर बनाउन सकेमा विश्वको लागि यो अनुकरणीय उदाहरण हुन जान्छ ।
त्यही प्रतिवद्धता अनुसार नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या १ सय ५० पु¥याउनुपर्नेछ । सन् २०१० मा नेपालसँग १ सय २१ वटा बाघ रहेकामा अहिले नेपालमा २ सय ३५ वटा पुगेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव(बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको सरकारले जनाएको छ ।
भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठौँ वर्ष बित्दैछ ।
नेपाल, भारत, बंगलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्य उन्मुख छन् । तर चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन । विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ । अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ ।
२० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या १,००,००० रहेकोमा यो संख्यामा ९०५ प्रतिशत ह्रास आई अहिले ३,२०० मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरुको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरु मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । बाघलाई वातावरणीय सन्तुलनलाई कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरुलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रुपमा मानिन्छ ।


