असोज १५, काठमाडौं ।
धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको बुधवार राति पौने १० बजे मृत्यु भएको हो ।
उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि उनलाई कोरोना संक्रमणको आशंकामा बिराट मेडिकल कलेज बिराटनगरले रेफर गरेको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति साढे ९ बजे भर्ना गरिएको थियो ।
अस्पताल ल्याउँदा नै संक्रमितको अवस्था गम्भीर भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।


