असोज २०, काठमाडौं ।
रुपन्देहीका करिब २ हजार नेकपाका कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका छन् । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङमा सार्न लागेको कुरामा असन्तुष्ट रहेका उनीहरुले मंगलवार पार्टी सदस्यता परित्याग गरेका हुन् ।
रुपन्देहीमा क्रियाशील नेकपा सम्बद्ध भ्रातृ संगठन तथा व्यावसायिक संस्थामा रहेका कार्यकर्ताहरूले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
उनीहरूले जनभावनाअनुरूप पार्टी नचलेको, औचित्यबिना प्रदेशको राजधानी सार्न खोजिएको र निर्वाचनको प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । नेताहरुले चुनावका बेलामा बुटवललाई प्रदेशको राजधानीमा बनाउने प्रतिबद्धता विपरीत प्रदेश सरकारले दाङको भालुबाङलाई प्रदेश राजधानीमा बनाउन लागेको प्रति असन्तुष्टी जनाउदै पार्टी परित्याग गरेका हुन् ।
राजीनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पर्यटन व्यवसायी माधव नेपाल लगायतको उपस्थिति थियो ।


