लामो समयदेखि सवारीसाधन आयात प्रतिबन्धले व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि प्लेकार्ड तथा ब्यानर बोकेर अटो मोबाइल्स व्यवसायीहरू सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।
मंगलबार मात्र सरकारले एक निर्णय गर्दै मंसिर मसान्तदेखि सम्पूर्ण प्रतिबन्धित आयात खुल्ला गर्ने घोषणा गरिसकेको छ । तरपनि अटो व्यवसायीहरु आन्दोलनमा होमिएका छन् । सवारी साधनलाई विलासिताको साधानको रुपमा व्याख्या गर्दै सरकारले विदेशी विनिमयको सञ्जितिको कारण देखाउँदै गाडी आयातमा ५० देखि शत प्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गर्दै गाडी आयातमा समेत प्रतिबन्ध लगाइदिएपछि व्यवसायीहरू संकटमा फसेका छन् ।
मंसिर १६ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा आज व्यवसायीहरू माइतीघरमा शान्तिपूर्ण विरोध कार्यक्रममा उत्रिरहेका छन् ।
‘हाम्रो आन्दोलन जारी छ’ भन्दै प्लेकार्ड बोकेर आन्दोलनमा होमिएका नाडाका अध्यक्ष ध्रुव थापाले पसल–शोरुम खोलेर बस्नुपर्ने व्यवसायीहरू यसरी सडकमा उत्रिनु पर्नु दुःखद भएको बताए ।
राष्ट्र बैंकको गलत नीति, एलसी मार्जिनको व्यवस्था खारेज हुनुपर्ने, चालू पुँजी निर्देशिका परिमार्जन हुनुपर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका व्यवसायीहरुले अटो लोन (फाइनान्सिङ सुविधा) को ५० प्रतिशतको क्याप समेत हटाउनुपर्ने माग राखेका छन् ।


