Banijya News

‘गरीखान देऊ, ब्याजदर नियन्त्रण गर,’ भन्दै अटोमोबाइल व्यवसायीहरु विरोध प्रदर्शनमा

1
1.3K Shares

अनियन्त्रित ब्याजदर र आयातमा लगाइएको अंकुशका विरुद्ध व्यवसायीहरु आन्दोलिन भएका छन् । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । सरकार र नेपाल राष्ट्र बैंकका नीतिका कारण ब्याजदर अनियन्त्रित एवं महँगो भएको कारण र आयातमा कडाइ हुँदा व्यवसायहरु धराशायी हुन थालेको भन्दै अटोमोबाइल व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आज उनीहरुले गरीखान देऊ, ब्याजदर नियन्त्रण गर, मौद्रिक नीति परिमार्जन गर लगायतका माग राखेका छन् । मंसिर १६ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा आज व्यवसायीहरू माइतीघरमा शान्तिपूर्ण विरोध कार्यक्रममा उत्रिरहेका छन् ।

राष्ट्र बैंकको गलत नीति, एलसी मार्जिनको व्यवस्था खारेज हुनुपर्ने, चालू पुँजी निर्देशिका परिमार्जन हुनुपर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका व्यवसायीहरुले अटो लोन (फाइनान्सिङ सुविधा) को ५० प्रतिशतको क्याप समेत हटाउनुपर्ने माग राखेका छ ।

गत बैंशाख १३ गतेदेखि सरकारले अन्य उपभोग्य वस्तुसँगै कार, जिप, भ्यान र १५० सिसी इन्जिन क्षमतामाथिको दुई पाङ्ग्रे सवारी साधनको आयातमा पूर्ण बन्देज लगाएको थियो । सवारी साधनलाई विलासिताको साधानको रुपमा व्याख्या गर्दै सरकारले विदेशी विनिमयको सञ्जितिको कारण देखाउँदै गाडी आयातमा ५० देखि शत प्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गर्दै गाडी आयातमा समेत प्रतिबन्ध लगाइदिएपछि व्यवसायीहरू संकटमा फसेका छन् ।अटो व्यवसायमैत्री नीति नल्याएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघलगायत व्यवसायी संगठनले समेत नाडाको विरोध कार्यक्रमलाई समर्थन गरेका थिए ।

‘हाम्रो आन्दोलन जारी छ’ भन्दै प्लेकार्ड बोकेर आन्दोलनमा होमिएका नाडाका अध्यक्ष ध्रुव थापाले पसल–शोरुम खोलेर बस्नुपर्ने व्यवसायीहरू यसरी सडकमा उत्रिनु पर्नु दुःखद भएको बताए ।

व्यवसायीहरुले जसले कर तिरेको छ उसैलाई सरकारले हेपेको र पेल्न खोजेको आरोप लगाएका छन् । गत आवमा अटो क्षेत्रले भन्सारतर्फ नै अटो आयात गर्दा ९० अर्ब ५ करोड राजस्व बुझाएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
आन्दोलन चलिरहँदा सरकारले मंगलबार मात्र एक निर्णय गर्दै मंसिर मसान्तदेखि सम्पूर्ण प्रतिबन्धित आयात खुल्ला गर्ने घोषणा गरिसकेको छ । तरपनि अटो व्यवसायीहरु आन्दोलनमा होमिएका छन् ।

1

Scroll to Top