नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी लगानी उल्लेख्य रुपमा बढ्न नसक्नु अर्थतन्त्रको चिन्ताको विषय भएको बताएका छन् । महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ नामक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले बहुराष्ट्रिय कम्पनीले राम्रो मुनाफा आर्जन गर्दा समेत लगानी नबढ्नु चिन्ताजनक विषय भएको बताएका हुन् ।
गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ६० प्रतिशत कम अर्थात करिब ७ अर्ब मात्र लगानी भित्रियो । ‘नेपालमा सञ्चालित प्राय सबै बहुराष्ट्रिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन,’ अध्यक्ष ढकालले भने, ‘अमेरिकी सरकारले केहि समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ ।’ यो अर्थतन्त्रमा निराशाको एउटा सूचक भएको ढकालले जनाए ।
‘यस्ता सूचकहरू समस्यामा गएसँगै अर्थतन्त्र मन्दीमा जाने हो । नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो,’ उनले थपे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू करिब डेढ वर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो केहि घटनाक्रम सम्झन चाहन्छु ।’ यसपटकको बजेटमा पनि निजी क्षेत्रले आशा गरे पनि उक्तअनुसार सरकारले सहुलियत नदिएको उनको भनाई छ ।
बजेपछि निजी क्षेत्रको आशाको केन्द्र मौद्रिक नीतिमा भए पनि नसमेटिएको उनको भनाई छ । ‘ठुलो अपेक्षा सहित निजी क्षेत्रका तीनवटै संस्थाले संयुक्त सुझाव पेस गयौँ,’ ढकालले भने, ‘मौद्रिक नीति सार्वजनिक हुनु एक महिना अघि हामी र अन्तर्राष्ट्रिय वित्त निगमले एउटा प्रतिवेदन सार्वजनिक गरेका थियौ ।’ जस अनुसार निजी क्षेत्रको अर्थतन्त्रमा योगदान ८१ प्रतिशत देखिएको थियो ।
निजी क्षेत्रमा करिब ६० लाखले रोजगारी पाएका छन् । ९५ प्रतिशत भन्दा बढी निर्यात निजी क्षेत्रको छ । ८० प्रतिशत भन्दा बढी राजश्व निजी क्षेत्र र सर्वसाधारणले बुझाउने गरेको समेत ढकालको भनाई छ ।


