यस आर्थिक वर्षमा औसतमा हरेक दिन एक हजार ९५० नेपाली कामका लागि विदेश गइरहेको देखिएको छ।
देशभित्र सत्ता समीकरण फेरबदल भइरहँदा कामका लागि विदेश जाने नेपाली बढेका छन् ।
फागुन महीनामा ६५ हजार ६५८ नेपाली कामका लागि विदेश गएको वैदेशिक रोजगार विभागले जनाएको छ। यो गत वर्षको यही अवधिका तुलनामा झन्डै चार हजार धेरै हो।
गत वर्ष अत्यधिक संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यो वर्षमा फागुन मात्रै त्यस्तो महीना हो, जुन अघिल्लो वर्षको सोही अवधिका तुलनामा कामका लागि विदेश जानेको संख्या बढेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए। यस वर्षको फागुनसम्म चार लाख ६८ हजार नेपाली कामका लागि विदेश गइसकेका छन्। यसमा नयाँ तथा पुनः अनुमति लिएर गएका पुराना श्रमिक दुवै पर्छन्। यद्यपि यसमा कामका लागि भारत जाने र श्रम स्वीकृति नलिई जानेको संख्या जोडिएको छैन।
यद्यपि अघिल्ला महीनाको तुलनामा कात्तिकयता विदेश जानेको संख्या बढ्दो क्रममा देखिन्छ। मंसीरदेखि फागुनसम्मका चार महीनामा दैनिक दुई हजार १८१ जनाको दरले नेपाली कामका लागि विदेशिइरहेका छन्। यो गत वर्षको औसतभन्दा धेरै हो।
देशमा राजनीतिक अस्थिरता तथा लगानीको वातावरण धमिलिएको, रोजगारी सिर्जना हुन नसकेको लगायत कारणले पछिल्ला वर्षमा नेपालीको विदेश जाने प्रवृत्ति बढिरहेको छ।


