Banijya News

चार सय ग्राहकलाई कालोसूचीमा राख्दै विद्युत् प्राधिकरण

1
1.0K Shares

 

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले लाइन काटिएको ६ महिनासम्म पनि बाँकी बक्यौता महसुल भुक्तानी नगर्ने करिब ४ सय सेवाग्राहीको पहिचान गरी कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख ई.जगन्नाथ लामिछानेले विद्युत् लाइन ६ महिनादेखि काटिएको र बक्यौता रकम भुक्तानी नगरेका सेवाग्राहीको नाम कालोसूचीमा राखिने बताए। उहाँले कालोसूचीमा राखिएका सेवाग्राहीले सरकारी स्तरबाट प्राप्त गर्ने कुनै पनि सेवा सुविधाबाट वञ्चित हुने बताए ।

लामिछानेले नेपालगन्ज वितरण केन्द्रमार्फत लाइन काटिएको ६ महिनासम्म पनि बाँकी बक्यौता महसुल रकम भुक्तान नगर्ने करिब ४ सय जना सेवाग्राहीको पहिचान भइसकेको बताए । उनले यस्ता सेवाग्राहीको नाम कालोसूचीमा राख्नका लागि कानुनी प्रक्रियासमेत अगाडि बढाइएको जानकारी दिए।

“लाइन काट्ने, जोड्ने लगायतका कार्यहरू विद्युत् प्राधिकरणको नियमित क्रियाकलाप नै हुन” केन्द्र प्रमुख लामिछानेले भने , “लाइन काटिएको ६ महिना पुग्दासम्म पनि बाँकी बक्यौता महसुल रकम नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखेर कानुनी प्रक्रिया अगाडि बढाउँछौँ, कालोसूचीमा परेका सेवाग्राहीले कुनै पनि सरकारी सेवा सुविधा प्राप्त गर्न पाउने छैनन् ।”

एउटा वितरण केन्द्रबाट लाइन काटिएका सेवाग्राहीले नजिक पर्ने अर्को वितरण केन्द्रबाट समेत लाइन जडान गरेको पाइएको उनले बताए । “नेपालगन्ज वितरण केन्द्रबाट लाइन काटिएको एउटा औषधि उद्योगले नजिक पर्ने कोहलपुर वितरण केन्द्रबाट लाइन जडान गरेको पाइएको छ” लामिछानेले भने , “जानकारी पाएपछि कोहलपुर वितरण केन्द्रलाई पत्राचार गरेका छौँ, यस्तो क्रियाकलाप गर्ने सेवाग्राहीलाई थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौ ।”

त्यसै गरी लाइन काटिएका सेवाग्राहीलाई कुनै छिमेकी ग्राहकले विद्युत् लाइन दिएको पाइएमा त्यस्ता लाइन दिने ग्राहकको पनि लाइन काटिने केन्द्र प्रमुख लामिछानेले जानकारी दिए । यी सबै कारबाहीका प्रक्रिया विद्युत् प्राधिकरणको नियमित काम भए पनि आम जनमानससम्म जानकारी नपुगेको हुँदा विद्युत् वितरण केन्द्रको फेसबुक पेजबाट समेत सूचना प्रवाह गर्दै आएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालये यसअघि नै लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको थियो ।

 

1

Scroll to Top