वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे २४ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले गरेको एउटा सर्वेक्षणले वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति बढेको देखाएको हो ।
२०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक सम्पत्ति रहेको थियो । त्यसको एक वर्षमा (२०८० असार मसान्त) २४.५ प्रतिशतले बढेर १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १३ खर्ब ७० अर्ब ५२ करोड र २०७७ असार मसान्तमा १३ खर्ब २६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणले यस्तो देखाएको हो । आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको विदेशी बैंकमा बचत हुने भएकाले उनीहरूको सम्पत्ति बढेको देखिने बताए । विशेष गरी विदेशी मुद्रा, एलसी खोल्नुपर्ने रकम लगायत विदेशी बैंकमा हुने गरेको छ ।
केन्द्रीय बैंक, निक्षेप सङ्कलन गर्ने बैंक तथा वित्तीय संस्थाहरू (क, ख र ग वर्ग) र गैर–बैंकिङ वित्तीय संस्थाको वासलातका आधारमा मौद्रिक र वित्तीय तथ्याङ्क म्यानुअल र कम्पाइलेशन गाइड, २०१६, आइएमएफ अनुसार यस्ता संस्था बीचको कारोबारलाई निटिङ गरी एकीकृत रूपमा तयार पारिन्छ ।
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको वासलातका आधारमा बैङ्क तथा वित्तीय संस्था सर्वेक्षण तयार गरी प्रकाशन गर्दै आइरहेको छ ।


