नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको विशाल सम्भावना रहेको बताएका छन्। रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दुई देशबीच विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यको खाँचो औंल्याएका हुन्।
अध्यक्ष ढकालका अनुसार नेपालको चिया, जडीबुटी र हस्तकला उत्पादन तथा रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको राम्रो सम्भावना छ। यसबाहेक, उनले भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवर्द्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवर्द्धनमा पनि सहकार्य गर्न सकिने बताए।
अध्यक्ष ढकालले व्यवसाय गर्न सहज बनाउन रुवाण्डाले गरेका सुधारहरूको प्रशंसा गरे। उनले रुवाण्डा विकास बोर्डको पहल, एक दिनमै कम्पनी दर्ता हुने प्रक्रिया र लगानीमैत्री वातावरणले प्रविधि, वित्त, उत्पादन र पर्यटनमा विदेशी लगानी आकर्षित गरेको उल्लेख गरे। कफी, चिया, पर्यटन र पूर्वाधार विकासमा रुवाण्डाले हासिल गरेको प्रगति नेपाली जनताका लागि पनि सिक्ने विषय भएको उनको भनाइ थियो।
अध्यक्ष ढकालले भने, “रुवाण्डाको यात्राले हामीलाई देखाउँछ कि सानो देशले पनि ठूला कुराहरू हासिल गर्न सक्छ। बलियो संस्थाहरू, सरकार र निजी क्षेत्रबीचको सहकार्य नै यसको आधार हो भन्ने कुरा हामीले रुवाण्डाबाट सिक्न सक्छौं।”
रुवाण्डाको साहसिक रूपान्तरण यात्रा नेपाली जनताका लागि प्रेरणाको स्रोत भएको बताउँदै अध्यक्ष ढकालले सन् १९९४ को नरसंहारपछि रुवाण्डाले शान्ति, एकता र प्रगति हासिल गर्न गरेको प्रयासको उच्च सम्मान गरे।
उनले थपे, “रुवाण्डाले आफ्नो इतिहासको पीडादायी अध्याय समाप्त गरी विगत तीन दशकमा उल्लेखनीय प्रगति हासिल गरेको छ। रुवाण्डाको अर्थतन्त्र विगतका वर्षहरूमा ७ देखि ८ प्रतिशत वार्षिक वृद्धिदरमा भइरहेको छ। बलियो नेतृत्व, जनताको परिश्रम र व्यवसायमैत्री नीतिहरू नै रुवाण्डाको विकासको मुख्य आधार बनेको छ। यो सबैका लागि प्रेरणादायी कुरा हो।”


