Banijya News

बागमती कांग्रेसमा बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि नयाँ नेतृत्व चयन हुँदै

1
1.1K Shares

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज निर्वाचन हुँदैछ। हिजो संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ नेतृत्वका लागि चुनाव हुन लागेको हो।

प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको छ।

लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा २२ जना सांसद खुलेका थिए भने लामाको पक्षमा १७ जना सांसद देखिएका थिए। यसरी प्रस्ताव पारित भएपछि मुख्यमन्त्रीसमेत रहेका लामा संसदीय दलको नेताबाट हटेका छन्।

नयाँ नेताका लागि हालसम्म इन्द्र बानियाँले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। बानियाँकै नेतृत्वमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। बानियाँको विरुद्धमा लामा समूहले भने कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लागिसकेको छैन।

आजको निर्वाचनले बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय नेतृत्वमा नयाँ अनुहार ल्याउनेछ, जसको प्रभाव प्रदेश सरकारको आगामी कार्यदिशामा पनि देखिने अपेक्षा गरिएको छ।

1

Scroll to Top