नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ। कम्पनीले साउन ३ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि खुला गरेको हकप्रदमा आज बैंकिङ समयभित्र मात्रै आवेदन दिन सकिनेछ।
कम्पनीले आफ्नो हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा करिब ३५ प्रतिशत हकप्रद जारी गरेको हो। यसअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो।
इच्छुक शेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर (Mero Share) मार्फत अनलाइन आवेदन दिन सक्छन्। यसका अतिरिक्त, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।


