नेपाल- नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्बन्ध सुधार गर्न र नेपालले अमेरिकाबाट पाउँदै आएको व्यापारिक सुविधाको उपयोग बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक महत्त्वपूर्ण छलफल भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको बैठकमा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूका साथै निजी क्षेत्रका संघ-संगठनका पदाधिकारीहरूको सहभागिता थियो। बैठकमा नेपालका लागि लगाइएको अतिरिक्त १० प्रतिशत भन्सार शुल्क मिनाहा गर्न अमेरिकालाई अनुरोध गर्ने विषयमा विशेष छलफल भएको छ। सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले यस शुल्कका कारण नेपाली निर्यात प्रभावित भएको भन्दै सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री भण्डारीले यस विषयमा पहल भइरहेको र नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (NTPP) अन्तर्गत ३१ नयाँ वस्तु थप गर्नका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिए।
यद्यपि, अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य भए पनि नेपालको व्यापार घाटा कायमै छ। गत आर्थिक वर्षमा नेपाल-अमेरिका व्यापार करिब रु ४४ अर्ब पुगेको थियो। नेपालबाट अमेरिका जाने प्रमुख वस्तुहरूमा कार्पेट, पश्मिना, चिया, छुर्पी, कफी र आईटी सेवाहरू पर्छन्।
नेपाल र अमेरिकाबीच सन् २०११ देखि व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता (TIFA) अन्तर्गत नियमित बैठकहरू हुँदै आएका छन्। यसै सन्दर्भमा नेपालले एनटीपीपीको निरन्तरता र थप भन्सार शुल्क मिनाहाका लागि कूटनीतिक रूपमा अनुरोध गर्दै आएको छ।


