अनुदानबापतको रकम नपाएको भन्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। आइतबारदेखि माइतीघरमा उखुका बोटसहित प्रदर्शन गरिरहेका किसानहरूले सरकारले दिनुपर्ने करिब १.५ अर्ब रुपैयाँ बाँकी रहेको दाबी गरेका छन्।
किसानहरूका अनुसार, सरकारले यस वर्ष उखुको अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झारेको छ, जसको उनीहरूले विरोध गरेका छन्। सरकारले तोकेको कुल मूल्य प्रति क्विन्टल ६२० रुपैयाँमध्ये मिलले ५८५ रुपैयाँ दिइसके पनि बाँकी रहेको अनुदान रकम नपाएको उनीहरूको भनाइ छ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार, गत मंसिरदेखि नै अनुदान रकम प्राप्त नभएको र सरकारले आफूहरूसँग छलफल नगरी मूल्य निर्धारण गरेकोमा पनि उनीहरू असन्तुष्ट छन्। यो सरकारको किसानमारा नीति भएको उनको आरोप छ।


