प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि आज (मंगलबार) मनोनयन दर्ता गरिने भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार, आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा मनोनयन पत्र दर्ता गर्न सकिनेछ।
मनोनयन दर्ता भएपछि आजै ४ः१५ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिनेछ। त्यसपछि भोलि (बुधबार) दिउँसो ३ बजे समितिको बैठक बसी निर्वाचन गर्ने कार्यतालिका रहेको छ। समिति सदस्यहरूले कुनै एक सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्न सक्नेछन्।
स्मरण रहोस्, यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’मा भएको विवादपछि सभापति पदबाट राजीनामा दिएका थिए। संसद् नियमावलीमा सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार, समितिले नयाँ सभापति चयन प्रक्रिया अघि बढाएको हो। यसले समितिको कामकारबाहीलाई निरन्तरता दिने र संसदीय प्रक्रियालाई सहज बनाउन मद्दत पुग्नेछ।


