चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १८.८ प्रतिशतले वृद्धि भई १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि विशेषगरी निर्यातमा भएको भारी उछालका कारण सम्भव भएको हो ।
साउन महिनामा नेपालको कुल निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन निकै उत्साहजनक छ । यसले व्यापार सन्तुलनमा सुधारको संकेत दिएको छ । यसै अवधिमा आयात पनि ११.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
सरकारको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०८२÷८३ को प्रथम महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले वृद्धि भई रु.१६६.९७ अर्व पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १४.३ प्रतिशत र ८५.७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ९५.७ प्रतिशतले वृद्धि भई रु २३.९३ अर्व पुगेको छ भने कुल पैठारी ११.४ प्रतिशतले वृद्धि भई रु. १४३.०४ अर्व पुगेको छ । आ.व. २०८१÷८२ को प्रथम महीनामा निकासी— पैठारी व्यापारको अनुपात १ः१०.५ रहेकोमा आ.व. २०८२÷८३ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः६.० रहन आएको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा सोयाविन तेल, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, पामतेल, सूर्यमुखी तेल, जुट तथा जुटका सामानहरु, उनी फेल्टका उत्पादन, जुस,, चिया, फलाम तथा फलामका उत्पादनहरु, प्लाईउड,, अलैंची, पश्मिना शल, पिना, चाऊचाऊ, जुत्ता चप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर विरालाका आहारा, जडीबुटी र नेपाली हातेकागज प्रमुख रुपमा रहेका छन ।
समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यातमा ७१.४४ प्रतिशतले ह्रास आई ३३ करोड ५९ लाखमा सीमित भएको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा २६.६८ प्रतिशतले वृद्धि भई रु.१ अर्ब ९ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा २६.५८ प्रतिशतले ह्रास आई रु. ८२ करोड ५ लाखमा सीमित भएको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा ५.२२ प्रतिशतले ह्रास आई रु. ८१ करोड ८२ लाखमा सीमित भएको छ । प्लाईऊडको निर्यातमा ५६.५८ प्रतिशतले ह्रास आई रु ३३ करोड १२ लाखमा सीमित भएको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा ४०.४९ प्रतिशतले वृद्धि भई रु. ६२ करोड ३१ लाख पुगेको छ । यसै गरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा १९.६८ प्रतिशतले ह्रास आई रु ५२ करोड ३८ लाखमा सीमित भएको छ । समीक्षा अवधिमा जुसको निकासीमा १०.०७ प्रतिशतले ह्रास आई रु. ४३ करोड २२ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा सोयाबिन तेलको निर्यातमा भारी वृद्धि भई रु १० अर्ब ७० करोड पुगेको छ । यसै गरी पामतेलको निर्यातमा पनि भारी वृद्धि भई रु ७१ करोड ४६ लाख पुगेको छ । यस अवधिमा सूर्यमुखी तेलको निकासीमा समेत भारी वृद्धि भई रु ६५ करोड १५ लाख पुगेको छ । यी तीनवटा वस्तुको नेपालको श्रावण महिना अवधिको कुल निकासीमा ५०.४ प्रतिशत योगदान रहेको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा ९९.५४ प्रतिशतले वृद्धि भई रु ३२ करोड १८ लाख पुगेको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यात समीक्षा अवधिमा ३०.४५ प्रतिशतले ह्रास आई रु ४० करोड २७ लाखमा सीमित भएको छ । यसै गरी समीक्षा अवधिमा अदुवाको निर्यात ५४.६२ ले ह्रास आई रु. ७ करोड ३ लाखमा सीमित भएको छ । पीना ( आयलकेक) को निर्यात ४२.३५ प्रतिशतले ह्रास आई रु २४ करोड ९७ लाखमा सीमित भएको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगटने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १५६.६६ प्रतिशतले वृद्धि भई रु १९ अर्ब ४५ करोड पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६०.५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षका सो हिस्सा ८१.२८ प्रतिशत पुगेको छ ।
नेपालको निर्यात व्यापारमा अन्य महत्वपूर्ण गन्तव्यहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, जापान, अष्ट्रेलिया, फ्रान्स, इटाली, क्यानडा,, नेदरलेण्डस, डेनमार्क, चीनको प्रान्त ताइवान तथा बँगलादेश प्रमुुख रुपमा रहेका छन ।
पैठारीतर्फ समग्रमा आ.व. २०८२÷८३ को प्रथम महीनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ५.६३ प्रतिशतले ह्रास आई रु. १८.४७ अर्बमा सीमित भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा २२.७० प्रतिशतले वृद्धि भई रु. १३.३० अब पुगेको छ ।
मशिनरी तथा पार्टसको आयातमा ५.९१ प्रतिशतले ह्रास आई रु. ९.४१ अर्बमा झरेको छ । कच्चा भटमास तेलको आयातमा भारी वृद्धि भई रु. १०.८१ अर्ब पुगेको छ । समीक्षा अवधिमा औषधीको आयातमा ४.९० प्रतिशतले वृद्धि भई ३.२७ अर्ब पुगेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुको आयातमा २.१२ प्रतिशतले ह्रास आई रु. ५.२४ अबमा झरेको छ ।
यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा २३.४६ प्रतिशतले वृद्धि भई रु. ८.०२ अर्ब पुगेको छ । कच्चा पाम तेलको आयातमा १५५.०२ प्रतिशतले वृद्धि भई रु. १.०५ अर्ब पुगेको छ । अन्नको आयातमा ५५.७५ प्रतिशतले वृद्धि भई रु ४.५६ अर्ब पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयातमा १८.५३ प्रतिशतले ह्रास आई २.८९ अर्बमा सीमित भएको छ ।
दुरसञ्चारका सामाग्रीको आयातमा १०.४४ प्रतिशतले हास आई रु ३.८४ अर्बमा सीमित भएको छ । सुनको आयातमा यस अवधिमा २४.४९ प्रतिशतले वृद्धि भई रु १.६६ अर्ब पुगेको छ । नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, अर्जेण्टिना, कतार, युएई, इण्डोनेशिया,,संयुक्त राज्य अमेरिका, ब्राजील, थाइलेण्ड, मलेशिया, क्यानडा, अष्टे«लिया र सिंगापुर प्रमुुख रुपमा रहेका छन ।
चालु आर्थिक वर्ष २०८२÷८३ प्रथम महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निकासी र पैठारी दुवैतर्फ वृद्धि भएको हुँदा व्यापारघाटा बढेर गएको छ । यस अवधिमा व्यापारघाटामा २.५ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा रु. ११९.११ अर्व पुगेको छ ।


