Banijya News

प्रचण्ड–माधवबीचको एकता हुने भएको हो ? भित्री खेल यस्तो

1
1.2K Shares

आफ्नै पार्टीभित्रको आन्तरिक किचलो झेलिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे पटक–पटक छलफल हुँदै आएको छ। तर, यी छलफलहरू ठोस निष्कर्षमा पुग्न सकेका छैनन्। दुवै पार्टीभित्र माओवादी र एकीकृत समाजवादीबीच मात्र नभएर बृहत् वाम एकता नै गर्नुपर्ने आवाज बलियो भइरहेका बेला प्रचण्ड र माधव नेपाल भने दुई पार्टीबीच मात्रै भए पनि एकता गरेर अघि बढ्नुपर्ने पक्षमा देखिएका छन्।

आलोकनगरको बैठक र असहमति

मंगलबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा प्रचण्ड र नेपालले आफू निकटका केही नेताहरूलाई सँगै राखेर एकताबारे छलफल गरे। बैठकमा प्रचण्डसहित माओवादीका देव गुरुङ र जयपुरी घर्ती लगायतका नेताहरू सहभागी थिए । त्यस्तै, एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, प्रमेश हमाल र रामकुमार भट्टराईलगायत उपस्थित थिए ।

छलफलमा प्रचण्डले नेकपाकालमा नै विचार र दस्तावेजहरू टुंगिसकेको भन्दै चाँडो एकता गर्नुपर्नेमा जोड दिए । उनले ’जनताको जनवाद’ लाई आधार मानेर अघि बढ्न सकिने प्रस्ताव राखे । प्रचण्डले एकतामा ढिलो गर्दा समस्या थपिँदै जाने भन्दै दुवै पार्टीभित्रका ’विरोधी’ लाई चिरेर ’सरप्राइज’ एकता गर्नुपर्नेमा जोड दिएको एक सहभागी नेताले बताए ।

प्रचण्डपछि बोलेका माधव नेपालले भने वैचारिक, राजनीतिक र सांगठनिक रूपमा कुरा मिलेपछि मात्रै एकता गर्न सहज हुने बताए । उनले अहिले पनि धेरै विषयहरू मिलाउन बाँकी रहेको र मोर्चालाई सक्रिय बनाएपछि मात्रै विश्वासको वातावरण बढ्ने धारणा राखे ।

नेताहरूबाट प्रश्न र नेतृत्वको मौनता
प्रचण्ड र नेपालको भनाइपछि दुवै पार्टीका प्रदेशस्तरीय नेताहरूले एकताको उद्देश्यबारे प्रश्न उठाए। उनीहरूले ’यो एकता समाजवादका लागि हो कि थप संकटका लागि?’ भन्दै नेतृत्वसँग ठोस जवाफ मागे। ’एकता तत्कालको संकट टार्नका लागि हो कि पछिसम्म टिक्ने वास्तविक एकता हो?’ भन्ने प्रश्नको ठोस जवाफ प्रचण्ड र नेपाल दुवैले दिन सकेनन्।

यद्यपि, प्रचण्डले जनार्दन शर्मा र माधव नेपालले झलनाथ खनाल तथा घनश्याम भुसालप्रति लक्षित गर्दै पार्टीभित्रका ’अवरोधक’ हरूलाई चक्मा दिन तत्काल एकता गर्नुपर्ने धारणा राखे ।

पार्टी नेताहरूको फरक–फरक भनाइ
छलफलपछि एकीकृत समाजवादीका नेता प्रमेश हमाल र माओवादी केन्द्रका महासचिव देव गुरुङले भने पार्टी एकताको विषय प्रवेश नै नभएको दाबी गरे। उनीहरूले छलफल समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने विषयमा केन्द्रित रहेको बताए ।

तर, एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले भने ’समाजवादी मोर्चालाई सक्रिय बनाउँदै वाम एकताका लागि दुवै दलले पहल गर्ने र धेरैभन्दा धेरै वामपन्थी पार्टीसँग एकता गरेर कम्युनिस्ट धार बलियो बनाउनेबारे कुराकानी भएको’ स्वीकार गरे ।

प्रचण्डले नेत्र विक्रम चन्द ’विप्लव’ सँग पनि वार्ता बढाइरहेको र त्यसका लागि नारायणकाजी श्रेष्ठमार्फत कुरा अघि बढाएको नेताहरू बताउँछन् । यसले प्रचण्डको बृहत् वाम एकताको रणनीतिलाई थप बल पु¥याएको देखिन्छ । समग्रमा, प्रचण्ड र माधव नेपालबीचको पार्टी एकताको प्रयास अझै पनि अनिश्चितताको भूमरीमा रहेको देखिन्छ ।

1

Scroll to Top