सुदूरपश्चिमका जेनजीहरूले राष्ट्र बैंकमा गभर्नर पदमा नियुक्त हुन नसकेका डा. गुणकर भट्टलाई अर्थमन्त्री बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले नयाँ सरकारमा सुदूरपश्चिको पनि प्रतिनिधित्व चाहिने भएकाले गर्दा डा. भट्टलाई अर्थमन्त्री बनाइनु पर्ने माग गरेका हुन् । ‘शैक्षिक योग्यता, अनुभव र नीतिगत दक्षताले उहाँलाई यो पदका लागि योग्य बनाउँछ ।’–जेनजी भुदेब जोशीले भने ।
जेनजीहरूको भनाइअनुसार अमेरिकामा पढेका डा. भट्टसँग अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) र एमबीएमा गोल्ड मेडलिस्टको उपाधि भएको कारण पनि उनलाई देशकै पिटडिएको क्षेत्रका आधारमा नयाँ अर्थमन्त्री बनाउनु पर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकमा दुई दशकभन्दा बढीको अनुभवले गर्दा उहाँ मौद्रिक नीति, वित्तीय नियमन र डिजिटल अर्थतन्त्र जस्ता विषयहरूमा विशेषज्ञ हुन । साथै, राष्ट्र बैंकको प्रवक्ताको रूपमा काम गरिसक्नुभएकाले जटिल आर्थिक विषयहरूलाई सरल भाषामा बुझाउने क्षमता भएकाले पनि उनलाई आफूहरुले रोेजेको बताएका छन् ।
आफ्नो निष्पक्ष छवि, राजनीतिक स्वतन्त्रता र दूरदृष्टिका कारण उनले नेपालको वित्तीय क्षेत्रमा सुधार, स्थिरता र प्रगतिको नयाँ अध्याय सुरु गर्न सक्ने जेनजीहरूको विश्वास छ । उनीहरूका अनुसार, डा. भट्टको नियुक्तिले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनेछ र युवाहरूको चाहनाअनुरूपको सुशासन र आर्थिक समुन्नति हासिल गर्न मद्दत पुग्नेछ ।


