रोशन पौडेल
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले नेपालको राजनीति र अर्थतन्त्रमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ । यस आन्दोलनले सिर्जना गरेको परिस्थितिले शेयर बजारमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा अहिले व्यापक चासो देखिएको छ । जेन–जी आन्दोलनका कारण देशले ठूलो आर्थिक क्षति बेहोरेको प्रारम्भिक अनुमान छ, तर के यो क्षतिले शेयर बजारलाई नकारात्मक दिशामा धकेल्ला त रु वा यो आन्दोलनले शेयर बजारका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ ?
जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीबाट करिब ३५ अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । सो क्षतिबाट करिब २३ अर्ब रुपैयाँ बराबरको दायित्व सरकारी स्वामित्वको नेपाल रि–इन्स्योरेन्स कम्पनीमाथि पर्ने देखिएको छ ।
हुलदंगा तथा आतंकवादजन्य जोखिमलाई निजी पुनर्बिमा कम्पनीमा हस्तान्तरण नगरी नेपाल रिमा मात्रै राख्ने सरकारी नीतिका कारण सम्पूर्ण भार एउटै कम्पनीमाथि परेको हो । यस कारण हिल्टन होटेल, भाटभटेनी सुपरमार्केटलगायत ठूला व्यवसायिक प्रतिष्ठानले गर्ने अर्बौंको दाबीमा पनि निजी क्षेत्रको हिमालयन रि–इन्स्योरेन्स चोखिने भएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले करिब ३५ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यसमध्ये अधिकांश क्षति सरकारी सम्पत्तिमा भएको छ। सरकारी कार्यालय तथा भवनहरूको बीमा नहुने भएकाले यसको प्रत्यक्ष असर बीमा कम्पनीहरूको शेयरमा कम देखिने सम्भावना छ । यद्यपि, नेपाल रि–इन्स्योरेन्स कम्पनीमाथि भने करिब २३ अर्ब रुपैयाँको दायित्व पर्ने देखिएको छ । तर, पुनर्बीमाको व्यवस्थाका कारण यसको असर पनि केही हदसम्म कम हुन सक्छ। निजी क्षेत्रमा करिब २ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि शेयर बजारमा सूचीकृत कम्पनीहरूमा यसको असर कम पर्ने देखिन्छ ।
यस आन्दोलनको एउटा महत्वपूर्ण पक्ष भनेको यसले ल्याएको राजनीतिक परिवर्तन हो । आन्दोलनको मुख्य मुद्दा नै भ्रष्टाचार छानबिन रहेकाले सुशीला कार्कीको नेतृत्वमा बनेको नागरिक सरकारलाई भ्रष्टाचारमा शून्य सहिष्णुता अपनाउने ’म्यान्डेट’ प्राप्त भएको छ । यदि सरकारले उच्चस्तरीय भ्रष्टाचार छानबिन आयोग गठन गरी प्रभावकारी रूपमा काम गर्न सकेमा यसले दीर्घकालमा देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानेछ ।
शेयर बजार सधैँ राजनीतिक स्थिरता र सुशासनको खोजीमा हुन्छ । विगतका वर्षहरूमा अस्थिर राजनीति, दलालीकरण र भ्रष्टाचारले गर्दा अर्थतन्त्रले गति लिन सकेको थिएन, जसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको थियो। जेन–जी आन्दोलनले यस परम्परागत राजनीतिक जालोलाई भत्काएको छ ।
यदि सरकारले भ्रष्टाचार छानबिन आयोग गठन गरी विगतका भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्ने हो भने त्यसले राजनीतिलाई शुद्धीकरण गर्नेछ । यसले गर्दा देशमा सुशासनको वातावरण बन्नेछ, जसले लगानीकर्ताको मनोबल बढाउनेछ ।
पुँजीगत खर्चमा वृद्धि र समयमै विकास निर्माणका कामहरू सम्पन्न भएमा अर्थतन्त्रमा तरलता बढ्नेछ र व्यवसायिक गतिविधिहरू चलायमान हुनेछन् । यसले बैंक तथा अन्य कम्पनीहरूको नाफा बढाउनेछ र शेयर बजारलाई उकालो लगाउनेछ ।
पूर्वअर्थसचिव रामेश्वर खनालजस्तो अर्थविद्को अर्थमन्त्रीमा नियुक्ति हुनु पनि शेयर बजारका लागि एक सकारात्मक संकेत हो। शेयर बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने यस्ता व्यक्तिहरूबाट थप सुधारका अपेक्षा गर्न सकिन्छ । आगामी ६ महिनाभित्र चुनावको घोषणा भइसकेकाले चुनावी खर्चले पनि बजार चलायमान बनाउन मद्दत गर्नेछ। भ्रष्टाचारको छानबिनले पुराना भ्रष्ट नेताहरूलाई चुनावबाट टाढा राख्न सकेमा नयाँ, सक्षम र नैतिकवान युवा नेतृत्वले अवसर पाउनेछन् । यसले देशको भविष्य उज्वल बनाउनेछ ।
जेन–जी आन्दोलनले तत्काल केही आर्थिक क्षति पु¥याए पनि यसले ल्याएको राजनीतिक परिवर्तन र सुशासनको सम्भावनाले दीर्घकालमा शेयर बजारको लागि नयाँ बिहानीको ढोका खोलेको छ । यदि नयाँ सरकारले भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र विकास निर्माणमा गतिशीलता ल्याउन सकेमा, विगत केही वर्षदेखि सुस्त रहेको शेयर बजारले अवश्य पनि नयाँ उचाइ लिनेछ । लगानीकर्ताहरूले राजनीतिक अस्थिरता र दलालीकरणको अन्त्य हुने आशामा मनोबल बढाउन सक्छन् ।


