दसैँ नजिकिँदै गर्दा नेपालीहरूमा चाडपर्वको उल्लास सुरु भइसकेको छ। तर, लाखौँ बचतकर्ताका लागि भने यो दसैँ खल्लो हुने निश्चित छ। वर्षौँदेखि दुःख–सुखमा काम लाग्छ भनेर जोगाएको पैसा सहकारीमा डुबेपछि उनीहरू न घरका न घाटको भएका छन्। सहकारीका सञ्चालकहरूको गल्ती र लापरबाहीको प्रत्यक्ष मार अहिले सोझासिधा बचतकर्ताहरूले भोगिरहेका छन्।
नेपालमा ३५ हजारभन्दा बढी सहकारी छन् र तिनमा अर्बौं रुपैयाँ फसेको अनुमान छ। धेरै सहकारीका अध्यक्ष तथा सञ्चालकहरू बचतकर्ताको रकम लिएर फरार भएका छन्, भने कतिपयले बचत फिर्ता गर्न नसक्ने भन्दै पन्छिएका छन्। बचतकर्ताहरूले आफ्नो पैसा माग्दा “हामीसँग पैसा छैन, बरु उपत्यका बाहिरको जग्गा लिनुस्“ भनेर उनीहरूलाई थप हैरान पारिएको छ।
सहकारी सञ्चालकहरूले दुर्गम क्षेत्रको भीरपाखाको जग्गालाई पनि आनाकै लाखौं मूल्य तोकेर बचतकर्तालाई झुक्याइरहेका छन्। बजारमा घरजग्गाको कारोबार ठप्प भएको बेला यस्तो जग्गाको मोलमोलाइले बचतकर्ताहरूलाई थप पीडा दिएको छ। उनीहरू आफ्नो जीवनभरको कमाइ गुमाएर निरास भएका छन्।
नेपालीहरूले बचत गरेको पैसा सहकारी, बैंक र अन्य वित्तीय संस्थाहरूले जोखिमपूर्ण क्षेत्रमा लगानी गरेकाले यो समस्या आएको हो। खासगरी घरजग्गा र शेयर बजारमा भएको अत्यधिक लगानीले आज यो अवस्था सिर्जना भएको छ।
घरजग्गामा अन्धाधुन्ध लगानीः दशकअघि दलाल र भूमाफियाहरूले जग्गाको मूल्य अनियन्त्रित रूपमा बढाए। बैंक तथा वित्तीय संस्थाहरूले पनि आँखा चिम्लिएर यसै क्षेत्रमा लगानी गरे। अहिले जग्गाको मूल्य लगातार घट्दै छ र खरिदकर्ता छैनन्। यसले गर्दा बैंक र सहकारीहरूले दिएको ऋण फसेको छ।
अस्वाभाविक शेयर कारोबारः नेपालको शेयर बजारमा बैंकहरूले नै प्रतिकित्ता १०० रुपैयाँको शेयरमा २,६०० रुपैयाँसम्म ऋण दिएको देखिन्छ। यसरी अस्वाभाविक रूपमा बढेको शेयरको मूल्य घट्दा धेरैको लगानी जोखिममा परेको छ।
गाडी खरिदमा अत्यधिक लगानीः बैंक तथा वित्तीय संस्थाहरूले गाडी खरिदका लागि पनि अत्यधिक ऋण दिए। तर, धातु र प्लास्टिकबाट बनेका गाडीमा आगो लाग्दा क्षणभरमै खरानी हुन्छन्, जसले गर्दा यसमा गरिएको लगानी पनि सुरक्षित देखिएन।
यी सबै असन्तुलित लगानीका कारण अहिले बैंक र वित्तीय संस्थाहरूको कर्जा जोखिममा परेको छ। ऋणीहरूले ऋण तिर्न नसक्ने र लिलाम गरिएका धितोहरू पनि बिक्री नहुने अवस्थाले बैंकहरूलाई थप समस्यामा पारेको छ। यसको प्रत्यक्ष असर बचतकर्ताहरूमा परेको छ ।
हालैको जेन–जी आन्दोलनले मुलुकलाई ठूलो क्षति पु¥याएको छ र धेरै उद्योग, व्यवसाय ध्वस्त भएका छन्। यसले हजारौँ मानिसलाई बेरोजगार बनाएको छ। रोजगारी गुमाएपछि मानिसहरूले कोठा भाडा तिर्न र दैनिक गुजारा चलाउन समेत मुस्किल भएको छ ।
अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको रोजगारी हो। जबसम्म मानिससँग पैसा हुँदैन, तबसम्म घरजग्गा, गाडी र शेयर बजारमा लगानी गर्ने सम्भावना न्यून हुन्छ। रोजगारीको अभावमा धेरै मानिसहरू विदेशिने वा गाउँ फर्किने बाध्यतामा छन्।
सहकारीको यो दुर्दशाले नेपालीहरूको आर्थिक भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ। सञ्चालकहरूको लोभ र गलत निर्णयका कारण लाखौँ बचतकर्ताहरूले आफ्नो जीवनभरको कमाइ गुमाएका छन्। यस अवस्थाबाट बाहिर निस्कन सरकार र नियामक निकायहरूले गम्भीरतापूर्वक कदम चाल्नु आवश्यक छ। अन्यथा, यस्तो त्रासदीपूर्ण अवस्थाले अरू धेरैलाई पीडा दिने निश्चित छ।


