Banijya News

किन मन्त्री बन्ने नाममा संगीता मिश्राको नाम ‘होल्ड’ , मिश्रामाथिको आरोप के ?

1
1.2K Shares

नयाँ सरकार गठनसँगै मन्त्रीहरूको नियुक्तिमा विवाद र दोहोरो मापदण्ड देखिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्राको नाम भ्रष्टाचारको आरोप लागेको भन्दै ‘होल्ड’ गरेकी छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ उजुरी परेका र व्यापक छानबिन भइरहेका कुलमान घिसिङलाई भने तीनवटा मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्री बनाइएको छ ।

के हो मिश्रामाथिको आरोप ?
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोप लागेकी डा. संगीता मिश्राविरुद्ध अख्तियारमा उजुरी परेको छ। प्रधानमन्त्री कार्कीले यो जानकारी पाएपछि उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेपछि पनि नाम फिर्ता लिने तयारी गरेकी हुन्। आइतबार मन्त्रिपरिषद् विस्तारको तयारीका क्रममा उनको नाम विवादित भएपछि शपथग्रहण रोकिएको थियो।

घिसिङमाथि दर्जनौँ उजुरी, तर मन्त्री बने
‘उज्यालो नेपालका नायक’का रूपमा परिचित कुलमान घिसिङमाथि अकुत सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणलगायत एक दर्जनभन्दा बढी गम्भीर आरोपमाथि अख्तियारले छानबिन गरिरहेको छ। उनीमाथि लागेका मुख्य आरोपहरू यसप्रकार छन्ः

सम्पत्तिमा अनियमितताः आफ्ना भाइ, दाइ र भतिजको नाममा विभिन्न कम्पनीमा लगानी गरेको आरोप।

राज्यलाई हानिः कोशी कोरिडोर सब–स्टेसन निर्माण र गैरकानुनी रूपमा पीपीए (विद्युत खरिद सम्झौता) गरेर राज्यलाई ठूलो आर्थिक नोक्सान पु¥याएको।

ठेक्कापट्टामा भ्रष्टाचारः स्मार्ट मिटर जडान, भूमिगत वितरण प्रणाली, ढल्केवर सब–स्टेसन निर्माण र ट्रान्सफर्मर खरिदलगायतका ठेक्कामा अनियमितता गरेको।

गैरकानुनी लाभः बक्यौता रहेका उद्योगहरूलाई गैरकानुनी लाभ दिई थप लोड स्वीकृत गरेको।

यी गम्भीर आरोपहरू हुँदाहुँदै पनि प्रधानमन्त्री कार्कीले घिसिङलाई पहिलो चरणमै मन्त्री बनाइसकेकी थिइन् र अहिले पनि उनी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा छन्।

दोहोरो मापदण्डमाथि प्रश्न
एकातिर डा. संगीता मिश्रामाथि लागेको एउटा उजुरीको आधारमा उनको नाम ’होल्ड’ गरिएको छ, भने अर्कोतिर कुलमान घिसिङमाथि दर्जनौँ उजुरी र विस्तृत छानबिन भइरहँदा पनि उनी मन्त्री पदमा निरन्तर छन्। यसले प्रधानमन्त्री कार्कीको मन्त्री छनोट प्रक्रियामा नैतिकता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ ।

आज (सोमबार) दिउँसो २ बजेका लागि मन्त्रीहरूको शपथग्रहणको तयारी भइरहेको छ। तर, विवादित नामहरूका कारण मन्त्रिपरिषद् विस्तार थप जटिल बनेको छ ।

1

Scroll to Top