शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकहरूलाई दशैं–तिहारको तलब रोकेको भन्दै सम्बन्धित पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भोलिसम्ममा तलब निकासा नगरेमा पालिकाहरूलाई नियमअनुसार कारबाही गर्ने जनाएका छन् ।
यसअघि मन्त्री पुनले विद्यालयका प्रधानाध्यापकले शिक्षकको तलब रोकेको भन्दै कारबाहीको चेतावनी दिएका थिए । तर, शिक्षकलाई तलब प्रधानाध्यापकले नभएर पालिकाले दिने जानकारी नभएको भन्दै चौतर्फी आलोचना भएपछि उनले आफ्नो स्टाटस सच्याएका हुन् ।
शिक्षा मन्त्रालयले दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित पालिकामा पठाइसकेको मन्त्री पुनले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले केही प्रधानाध्यापक र शिक्षकहरूबाट दशैं–तिहारमा पनि तलब नपाएको गुनासो आएको उल्लेख गर्दै अन्यायपूर्ण तरिकाले तलब रोक्ने पालिकाहरुलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
मन्त्री पुनले फेसबुकमा लेखेका छन्, “मन्त्रालयबाट पैसा गएर पनि तलब नख्वाउने पालिकाहरूलाई सूचना। दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरूको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ।“


