नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने छ।
यसैगरी बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतमले जानकारी दिए। सचिवालय बैठक पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ। जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।
जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए। गत असोज २ गते मात्रै उनी ब्यारेकबाट फर्किएका हुन्।


