काठमाडौं: भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश जान रोक लगाएको छ। आयोगले उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पासपोर्ट रोक्का गर्नुका साथै काठमाडौं बाहिर जान पनि अनुमति नलिई जान नपाउने गरी रोक लगाएको हो।
को-कोमाथि अनुसन्धान हुँदै ?
आयोगले अनुसन्धानका लागि तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गरेको हो। जेनजी आन्दोलनका क्रममा सरकारले चरम दमन गर्दा भदौ २३ गते १९ जनाको ज्यान गएको थियो।
गोली चलाउने आदेश कसले दियो ?
आन्दोलनका क्रममा भएको ज्यान गुमाउने घटनामा तत्कालीन प्रधानमन्त्री ओलीले आफूले गोली चलाउन आदेश नदिएको भन्दै पन्छिन खोजेपछि उनीमाथि अनुसन्धान गर्न दबाब बढेको थियो। यता, गृहमन्त्रीको निर्देशनमा तत्कालीन सीडीओ रिजालले बल प्रयोग गरेर पनि संसद भवन जोगाउन आदेश दिएका थिए। सोही आधारमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो।


