काठमाडौं उपत्यका र देशभरका विभिन्न भागमा भइरहेको भारी वर्षालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले महत्त्वपूर्ण सूचना जारी गरेको छ। प्राधिकरणले आजदेखि आगामी तीन दिनसम्मका लागि लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। केही ठाउँमा भने भारी वर्षा र अति धेरै भारी वर्षा समेत हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। यही जोखिमलाई कम गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी साधन तथा काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको हो।
प्राधिकरणले यातायात व्यवसायी र आम नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ। साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई पनि यो निर्णयको निरन्तर अनुगमन गर्न र सवारी आवागमन रोक्न निर्देशन दिइएको छ। यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।


