Banijya News

बाढी र पहिरोले १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, यी हुन् क्षति पुगेका आयोजना

1
1.2K Shares

देशका विभिन्न भागमा आएको बाढी र पहिरोले गर्दा १३ वटा जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार १३ वटा आयोजनामा क्षति पुगेको जनाएको छ।

बाढी पहिरोका कारण उत्पादन बन्द हुनुका साथै पाँच निर्माणाधीन जलविद्युत आयोजनामा समेत ठूलो क्षति पुगेको इप्पानले उल्लेख गरेको छ। यसले गर्दा देशको समग्र बिजुली उत्पादनमा असर पर्न सक्ने देखिएको छ।

विगत तीन दिनदेखि भइरहेको अत्यधिक वर्षाबाट सबैभन्दा ठूलो क्षति इलाम जिल्लामा पुगेको छ । हालसम्म इलाममा मात्रै पहिरोका कारण ३७ जनाको मृत्य भइसकेको छ ।

त्यस्तै, इलाममा रहेका अधिकांश जलविद्युत आयोजनामा बाढी पहिरोले क्षति पुर्‍याएको निजी ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जनाएको छ । इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द छ ।

निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुगेको पनि इपानले जनाएको छ ।
इलामा रहेका माइखोला, माइखोला क्यासकेड, सुपरमाइ, सुपरमाई ए तथा त्यसको क्यासकेड, जोगमाईखोला र त्यसको क्यासकेड, तल्लो जोगमाइ, माइबेनी, माथिल्लो माइखोला, माई सी क्यासकेड आयोजनाको उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

ती आयोजनाको इन्टेक, पावरहाउस, सबस्टेसन, हेडवर्क्स, प्रसारण लाइनलगायतमा बाढीले क्षति पुर्‍याएको पनि इपानले जनाएको छ ।

त्यस्तै, निर्माणाधीन अवस्थामा रहेका पाँचथरको सभाखोला बी र हेवाखोलामा क्षति पुगेको छ । त्यस्तै, इलाममा रहेको सिद्धिखोला तथा सिन्धुपाल्चोकका ब्रम्हायणी र अपर ब्रम्हायणी विद्युत आयोजनामा पनि क्षति पुगेको इपानले जानकारी दिएको छ ।

ती आयोजनाहरुको पनि हेडवर्क्स, एक्सेस रोड, पावर हाउसलगायतमा क्षति पुगेको छ भने निर्माण सामग्री बाढीले बगाएको इपानले जनाएको छ ।

यी हुन् क्षति पुगेका आयोजना:

आयोजनाको नाम क्षमता (मेगावाट)

माइखोला हाइड्रो पावर (४.५)

माइखोला क्यासकेड (८)

जोगमाई खोला (७.६)

जोगमाई क्यासकेड (५.२)

तल्लो जोगमाई (६.२)

माइबेनी हाइड्रोपावर (९.५)

माथिल्लो माइखोला (९.९)

माइ सी क्यासकेड (५.१)

सभा खोला बी (२१.५)

हेवा खोला (९.९)

सिद्धी खोला (१०)

ब्रह्मायणी हाइड्रोपावर (३६.५१)

अपर ब्रह्मायणी हाइड्रोपावर (१५.१५)

माइखोला (२२)

माइखोला क्यासकेड (७)

सुपर माई (७.८)

सुपर माई ए (९.६)

सुपर माई ए क्यासकेड (३)

1

Scroll to Top