गैरआवासीय नेपाली व्यवसायी चन्द्रप्रकाश (सीपी) खेतानले स्वीटजरल्याण्डको फुटबल क्लब साफहाउजेनको स्वामित्व खरिद गरेका छन्। स्वीस मिडियाहरूका अनुसार उनले सिंगापुरमा रहेको आफ्नो कम्पनी लोटस वान इन्भेष्टमेन्टमार्फत यो लगानी गरेका हुन्। यद्यपि, क्लब खरिदमा उनले लगानी गरेको रकमबारे आधिकारिक जानकारी दिइएको छैन।
यसअघि आर्थिक दबाबमा रहेको क्लबले नयाँ शेयर जारी गरेर खेतानको कम्पनीबाट प्राप्त रकमले आफ्नो ऋण चुक्ता गरेको बताइएको छ। क्लबका अध्यक्ष मार्टिन फ्रिकले एक अन्तर्वार्तामा नयाँ लगानीकर्ताले “डबल डिजिट मिलियन” (करिब १० मिलियन स्वीस फ्र्यांक) लगानी गरेपछि क्लब ऋणमुक्त भएको बताएका छन्। यसको अर्थ खेतानको कम्पनीले कम्तीमा १० मिलियन स्वीस फ्र्यांक (करिब १ अर्ब ७८ करोड रुपैयाँ) लगानी गरेको अनुमान गरिएको छ।
खेतान अब क्लबका प्रमुख लगानीकर्ता बनेका छन्। क्लबका अध्यक्ष फ्रिकले आगामी पाँच वर्षभित्र साफहाउजेनलाई स्वीस सुपर लिगमा पुर्याउने लक्ष्य रहेको बताएका छन्।
नेपालको प्रतिष्ठित खेतान परिवारका सदस्य सीपी खेतान लामो समयदेखि सिंगापुरमा बसेर व्यवसाय गरिरहेका छन्। उनका बुबा मोहनगोपाल खेतानले नेपालमा गोर्खा ब्रुअरी, कोकाकोला र अन्य विभिन्न उद्योगहरूको स्थापना गरेका थिए।
गत वर्ष मात्र खेतानले नेपाल र भारतको कार्ल्सबर्ग ग्रुपसँगको आफ्नो साझेदारीको शेयर करिब १ खर्ब रुपैयाँमा बेचेका थिए। कार्ल्सबर्गसँगको कारोबारपछि उनले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो लगानी विस्तार गर्दै गएका छन्। हालै उनले सिंगापुरमा एउटा हेरिटेज होटल पनि खरिद गरेका थिए।
यसैबीच, खेतानले आफ्नो नयाँ क्लबमार्फत स्थानीय फाउन्डेसनलाई इनडोर खेल पूर्वाधार निर्माणका लागि १० लाख स्वीस फ्र्यांक (करिब १७ करोड रुपैयाँ) दान दिएका छन्। यो रकम साफहाउजेन क्षेत्रमा इनडोर खेलकुद केन्द्र बनाउन खर्च हुनेछ। खेतानको कम्पनी लोटस वान इन्भेष्टमेन्टले आफ्नो नाफाको ५० प्रतिशत हरेक वर्ष सामाजिक कार्यमा दान गर्ने नीति लिएको छ।


