Banijya News

जेन–जी आन्दोलनले एक महिनामै १८ प्रतिशत घटे विदेशी पर्यटक

1
1.1K Shares

नेपालमा पर्यटकका लागि आकर्षक सिजन मानिने सेप्टेम्बर महिनामा पर्यटक आगमनमा उल्लेख्य कमी आएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो। सामान्यतया सेप्टेम्बर र अक्टोबरमा नेपाल आउने पर्यटकको संख्या निकै उच्च रहने भए तापनि यस वर्षको कमीको मुख्य कारण जेन-जी आन्दोलनलाई मानिएको छ। व्यवसायीहरूको अनुमानअनुसार जेन-जी आन्दोलनले बढाएको सुरक्षा संवेदनशीलता र भौतिक संरचनामा पुगेको क्षतिका कारण सेप्टेम्बर र अक्टोबरमा नेपाल भ्रमणको तयारी गरेका करिब ५० प्रतिशत पर्यटकले भ्रमण रद्द गरेका थिए।

सेप्टेम्बर महिनामा नेपाल आएका कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। यस महिना १५ हजार ५ सय ५६ भारतीय पर्यटक नेपाल आएका थिए, जुन कुल आगमनको १९.८ प्रतिशत हो। त्यसैगरी, दोस्रो स्थानमा अमेरिकी पर्यटक रहेका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार ९ हजार ६७९ अमेरिकी पर्यटक सेप्टेम्बरमा नेपाल आए, जुन कुल आगमनको करिब १२ प्रतिशत हो। अन्य प्रमुख देशहरूबाट आउने पर्यटकहरूको संख्यामा अस्ट्रेलियाबाट ६ हजार ८ सय २४, चीनबाट ५ हजार २ सय ३७ र बेलायतबाट ४ हजार ९ सय ८१ जना रहेका छन्।

क्षेत्रगत रूपमा हेर्दा, सेप्टेम्बर महिनामा दक्षिण एशिया अर्थात् सार्क क्षेत्रबाट २४ हजार २ सय ८५ जना पर्यटक नेपाल आएका छन्, जुन सबैभन्दा बढी हो। दोस्रोमा युरोपबाट १६ हजार ५ सय ९७ जना पर्यटक आएका छन्। यसैगरी, एशियाबाट १२ हजार ५ सय ९० जना, अमेरिकाबाट ११ हजार ५ सय २३ जना, आशियान क्षेत्रबाट ७ हजार ३ सय १४ जना र पश्चिम एशियाबाट २ हजार ३ सय २८ जना पर्यटक नेपाल आएको तथ्यांक छ। अफ्रिकाबाट भने सबैभन्दा कम ३ सय ४४ जना पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए। सुरक्षा संवेदनशीलताका कारण पर्यटक आगमनमा आएको यो गिरावटले नेपालको पर्यटन व्यवसायमा गम्भीर असर पारेको छ।

1

Scroll to Top