Banijya News

‘फ्री तिब्बत’ सँग जोडेर बदनाम गर्ने नियोजित खेल भयो : सुदन गुरुङ

1
1.3K Shares

‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले आफ्नो समूहलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। हालैको जेन–जी आन्दोलनका क्रममा केही युवाहरूले लगाएको कालो टिसर्टमा ‘टीओबी’ (T.O.B.) लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले यो एक संगठित साइबर समूहको नियोजित भ्रम फैलाउने खेल भएको दाबी गरेका छन्।

गुरुङले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “अब अति भयो। हाम्रो समाजमा अराको खुट्टा तान्ने प्रवृत्ति कहिल्यै हराएन। अहिले फेरि नयाँ रूपमा साइबर सेनाको खेल सुरु भएको छ।”

भाइरल भएको ‘टीओबी’ अक्षरलाई कतिपय टीकाकारहरूले ‘टिबेटन ओरिजिन ब्रदरहुड’ (Tibetan Origin Brotherhood) र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर टिप्पणी गरेका थिए। तर गुरुङले यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले आफ्नो ‘हामी नेपाल’ अभियानमा कुनै पनि विदेशी शक्ति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) वा राजनीतिक समूहको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेका छन्।

गुरुङका अनुसार ‘हामी नेपाल’ कुनै गैरसरकारी संस्था (NGO) नभई गैरनाफामुखी संगठन (NPO) हो। यो समूहले नगद सहयोगभन्दा पनि जिन्सी सहायतालाई प्राथमिकता दिने गर्छ। “हामीलाई एनजीओ प्रणाली मन परेन, त्यसैले एनपीओ नाम राख्यौं,” उनले प्रष्ट पार्दै आफूहरू विशुद्ध सामाजिक अभियानमा सक्रिय रहेको बताएका छन्। उनले आफ्नो समूहमाथि लगाइएका सबै आरोपहरू निराधार रहेको र यो नेपालमा भइरहेको युवा आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको जिकिर गरेका छन्।

1

Scroll to Top