Banijya News

जेन–जी सरकारमा सुदूरपश्चिमको उपेक्षा

1
1.2K Shares

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भए पनि २३ र २४ भदौको ’जेन–जी आन्दोलन’को जगमा बनेको यस सरकारमा अहिलेसम्म नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुन सकेको छैन । दुवै पटक मन्त्रिपरिषद् विस्तार गर्दा जेन–जीको भावनालाई समेट्न नसकिएको मात्र होइन, देशको एक महत्त्वपूर्ण प्रदेश, सुदूर पश्चिमबाट पनि कुनै नेतालाई मन्त्रीमण्डलमा समावेश गरिएको छैन । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा भएको प्रदर्शनको अग्रपंक्तिमा रहेका सुदूर पश्चिमका जेन–जी असन्तुष्ट हुँदै आएका छन् ।

जेन–जी आन्दोलनको जगमा बनेको सरकारले अब आन्दोलनको मर्म र देशको समावेशी सिद्धान्त दुवैलाई सम्मान गर्दै अघि बढ्नुपर्ने चुनौती छ । सुदूर पश्चिम जस्तो महत्त्वपूर्ण प्रदेशलाई उपेक्षा गर्दा क्षेत्रीय असन्तुलन बढ्ने जोखिम छ । यी अनुभवी प्रशासक र विकासप्रेमी नेताहरूको सहभागिताले संघीय तथा प्रदेशिक संरचनामा सुदूर पश्चिमको प्रभावकारी भूमिका स्थापित हुने विश्वास लिइएको छ । त्यसैले, बाँकी मन्त्रिपरिषद् विस्तारमा जेन–जी युवा र सुदूर पश्चिम प्रदेशको नेतृत्वको अनिवार्य सहभागिताले मात्र प्रधानमन्त्री कार्कीको सरकारलाई वैधता र समावेशिता प्रदान गर्न सक्ने देखिन्छ ।

मन्त्रिपरिषद्मा जेन–जी र सुदूर पश्चिमको प्रतिनिधित्वको माग बढिरहेका बेला, प्रदेशको तर्फबाट अनुभवी र सक्षम प्रशासक तथा विकासप्रेमी व्यक्तित्वहरूको अनिवार्य सहभागिता गराउनुपर्ने आवाज झनै बलियो बनेको छ । सुदूर पश्चिमको माटोमा जन्मेका र हुर्केका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो योग्यताको छाप छोड्न सफल केही महत्त्वपूर्ण नामहरूको सूची अहिले चर्चामा छ । यी व्यक्तित्वहरूले आ–आफ्नो कार्यक्षेत्रमा हासिल गरेको उल्लेखनीय सफलताले उहाँहरूको उपस्थिति अब केवल क्षेत्रीय आवश्यकता मात्र नभई राष्ट्रिय आवश्यकताको विषय बनेको देखाउँछ ।

सचिव सुमन शर्माः अर्थ, ऊर्जा, शान्ति र सञ्चार लगायतका महत्त्वपूर्ण मन्त्रालयहरू र खानेपानी विभागमा सफलताका साथ कार्य गरिसकेका शर्माको नेतृत्वको अनुभव बेजोड छ । उहाँकै कार्यकालमा ’ऊर्जा विकास दशक’ को अवधारणा ल्याइएको र लोडसेडिङ अन्त्य गर्नमा महत्त्वपूर्ण भूमिका रहेको उल्लेख छ । साथै, अर्थ सचिव हुँदा नेपालको आर्थिक विकासमा एशियामा प्रथम स्थान हासिल गराउन सफल भएको दाबी पनि गरिएको छ, जसले उहाँको उच्च प्रशासनिक र आर्थिक दृष्टिकोणलाई प्रमाणित गर्दछ ।

बिनोद प्रकाश सिंहः गृह, पर्यटन, सामान्य प्रशासन जस्ता संवेदनशील मन्त्रालयहरूका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका सिंहको अनुभव बहुआयामिक छ । सह–सचिव हुँदा श्रम लगायतका विभिन्न मन्त्रालयहरूमा महाशाखा प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका उहाँ अनुभवी प्रशासक हुन् ।

ई. तेज राज भट्टः ऊर्जा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव र विद्युत विकास विभागमा कुशल नेतृत्व गरेका छन् । खानेपानी विभागमा लामो अनुभव सँगालेका, हाल बागमती प्रदेश सचिवको जिम्मेवारीमा रहेका ई. तेज राज भट्ट को प्राविधिक तथा प्रशासकीय दक्षताले सुदूर पश्चिम लगायत राष्ट्रभरि नै विकास निर्माणमा ठूलो टेवा पुग्ने देखिन्छ ।

ई. अनुप उपाध्याय: ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि र विद्युत विकासमा कुशल नेतृत्व

नेपालको सार्वजनिक प्रशासन र विकास निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूमध्ये ई. अनुप उपाध्याय एक अनुभवी प्रशासकका रूपमा परिचित हुनुहुन्छ। उहाँले ऊर्जा (Energy) र शिक्षा, विज्ञान तथा प्रविधि (Education, Science and Technology) जस्ता संवेदनशील मन्त्रालयहरूमा सचिवको जिम्मेवारी सम्हाल्दै आफ्नो कुशल नेतृत्व क्षमता प्रदर्शन गर्नुभएको छ। ई. उपाध्यायको अनुभवको केन्द्रबिन्दुमा विद्युत विकास विभाग (Department of Electricity Development) मा रहेको उहाँको सफल नेतृत्व पनि पर्दछ। विद्युत विकास विभागमा प्रमुख भूमिका निर्वाह गर्दा उहाँले देशको ऊर्जा क्षेत्रको विकास, जलविद्युत आयोजनाहरूको प्रवर्द्धन र ऊर्जा सुरक्षाको दिशामा महत्वपूर्ण कामहरू अगाडि बढाउनुभएको थियो। उहाँको बहुआयामिक अनुभव, विशेष गरी ऊर्जा र प्रविधि जस्ता विकासका आधारभूत क्षेत्रहरूमा रहेको गहिरो ज्ञान, राष्ट्रको नीति निर्माण तथा कार्यान्वयन तहमा निर्णायक भूमिकाका लागि उहाँलाई एक योग्य र अपरिहार्य व्यक्तित्व बनाउँछ। सुदूर पश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने उहाँको संलग्नताले क्षेत्रीय सन्तुलन कायम गर्दै राष्ट्रको समग्र विकास प्रक्रियालाई गति दिन सक्ने विश्वास लिइन्छ।

डा. गुणाकर भट्ट (अर्थशास्त्री) : गोल्ड मेडलिस्ट तथा अमेरिकामा समेत विशिष्ट अध्ययन र अनुभव हासिल गर्नुभएका डा. भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको रूपमा विभिन्न विभागहरूमा महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । उहाँको गहिरो आर्थिक ज्ञानले देशको नीति निर्माणमा निर्णायक भूमिका खेल्न सक्ने प्रष्ट देखिन्छ ।

गोपी हमाल (स्वतन्त्र प्रमुख, धनगढी): कैलालीको धनगढी उपमहानगरपालिकाका स्वतन्त्र प्रमुख गोपी हमाल आफ्नो विकासप्रेमी छविका कारण लोकप्रिय छन् । उहाँको स्थानीय तहको सफल नेतृत्व र विकासका लागि प्रतिबद्धताले पनि सुदूर पश्चिमको तर्फबाट महत्वपूर्ण प्रतिनिधित्वको आवश्यकतालाई जोड दिएको छ ।

नयाँ मन्त्रीहरूमा पनि क्षेत्रीय सन्तुलनको अभाव

पहिलो विस्तारमा अर्थविद् रामेश्वर खनालले अर्थ, कुलमान घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास र ओमप्रकाश अर्यालले गृहमन्त्रीको शपथ लिएका थिए । यसैगरी दोस्रो विस्तारमा अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि व्यवस्था, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास र पत्रकार जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिएका छन् । यी अनुभवी र दक्ष व्यक्तित्वहरूको नियुक्ति स्वागतयोग्य भए तापनि यसमा क्षेत्रीय सन्तुलन मिलाउन नसकिएको र सुदूर पश्चिम प्रदेशको प्रतिनिधित्व शून्य रहेकोमा प्रश्न उठेको हो ।


सुदूरपश्चिम प्रदेशका ९ जनाले गुमाए ज्यान

सुदूरपश्चिम प्रदेशका ९ जनाले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएका छन् । प्रदर्शनका क्रममा भदौ २३ गते पहिलो दिन तीन जना र दोस्रो दिन ४ जनाले ज्यान गुमाएका हुन । २ जनाले भने आन्दोलनकै क्रममा कारागारबाट भाग्दै गर्दा ज्यान गुमाएका छन् । प्रहरीले चलाएको गोली लागेर धनगढी उपमहानगरपालिका– ५ तारानगरका गौरव जोशीको भदौ २३ गते निधन भएको थियो । २७ वर्षीय गौरव तीन वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लस टु सकेर काठमाडौँ गएका थिए । उनी विदेश जाने तयारीमा थिए । प्रदर्शनका क्रममा वृद्ध आमाबुबा सहाराको टेको नै ढलेको छ ।

बझाङको खप्तड छान्ना गाउँपालिका–७, गोर्खाली गाउँमा सुवास बोहराको पनि प्रहरीको गोली लागेर भदौ २३ गते निधन भएको छ । २१ वर्षीय सुवास भाषा परीक्षा पास गरेर जापान जाने तयारीमा थिए । तर, जापानको भिसा लागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भएपछि उनको जापान जाने सपनामा ब्रेक लागेको थियो । त्यसपछि भारतको बेङलुरु पुगेर फेरी आमाले जापान पठाउने ढाडस दिएपछि काठमाडौँ फर्किएका उनी संसद् भवन अगाडिको गेटमा गोली लागेर निधन भएको हो । छोरोलाई जापान पठाउन भारतको बेङलुरुबाट मजदुरी गर्दै गरेकी आमा र सुवासँगै काठमाडौँ बस्दै गरेका भाइको बिचल्ली भएको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ सुपाना गाउँका २१ वर्षीय योजन बुढा (ओजन)को पनि सोही दिन निधन भएको छ । उनी काठमाडौँको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए । काठमाडौँमा डेरा गरी बस्ने योजनका बुवा मअडीपालले भारतमा मौसमी मजदुरी गर्दै आएका थिए । प्रदर्शनका क्रममा बेपत्ता भएका योजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा आफन्तले अस्पतालमा शव फेला पारेका थिए । कालीमाटीमा प्रहरीले चलाएको गोली लागेर बझाङका २८ वर्षीय भीमराज धामीको भदौ २४ गते निधन भएको थियो । कीर्तिपुर बस्ने भीमराज कृषि व्यवसायी थिए । उनकी श्रीमती, २ महिनाका छोरा र ७५ वर्षकी आमा छन् ।

प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका ४८ वर्षीय नीरज पन्तको पनि निधन भएको छ । उनी श्रीमती सँगै काठमाडौँको महाराजगन्जमा आयुर्वेदिक औषधि व्यवसाय गर्थे । प्रदर्शनमा गोली लागेर गम्भीर घाइते भएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको पनि उपचारका क्रममा निधन भएको छ । काठमाडौँमा भएको जेनजी आन्दोलनमा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तम सिंह थापाको पनि भदौ २४ गते निधन भएका थियो । दार्चुलाको लेकम गाउँपालिका– ३ लाली घुम्खोली थापालाई आन्दोलनकारीले डिएसपी भन्दै क्रूर रूपमा कुटीकुटी हत्या गरेका थिए ।

बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा रहेका भाग्न खोज्दा गोली लागेर ५ जनाको निधन भएको थियो । जसमध्ये २ जना सुदूरपश्चिमका रहेका छन् । गोली लागेर निधन हुनेमा अछामका २१ वर्षका उमेश विष्ट, कैलालीका १९ वर्षका जगत देउवा रहेका छन् । उनीहरू जबरजस्ती करणी मुद्दामा बाल सुधार गृह पुगेका थिए ।

1

Scroll to Top