नेपालमा सरकारको खर्च कटौती योजनाअनुसार उद्योग मन्त्रालयले ठूलो मात्रामा बजेट कटौती गर्न लागेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले रु. ३ करोडसम्मका खुद्रे आयोजना कटौती गर्ने निर्णय गरे पनि उद्योग मन्त्रालयले भने रु. २० करोडसम्मका आयोजनाको बजेट कटौती गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा, मन्त्रालयले छ महिनाभित्रै परिणाम दिन सक्ने कामहरूमा केन्द्रित भएर ’एक्सन प्लान’ बनाइरहेको छ, जसको लागि सचिवस्तरीय छलफलहरू नियमित भइरहेका छन् ।
१ अर्ब बढीको पुँजीगत बजेट कटौती
उद्योग मन्त्रालयबाट कुल रु. १ अर्ब ४ करोड बराबरको पुँजीगत बजेट कटौती भएको छ । यो रकम औद्योगिक पूर्वाधार विकास कार्यक्रमबाट निकालिएको हो । कटौती गरिएको रकमलाई ६ महिनामा परिणाम आउने प्रभावकारी क्षेत्रमा रिस्ट्रक्चरिङ गरी लगाउने तयारी मन्त्रालयले गरेको छ । पुँजीगत खर्च कटौती भए पनि चालू खर्चबाट बजेट कटौती गर्न नमिल्ने मन्त्रालयले जनाएको छ, तर चालू खर्चमा समेत कडाइ गरिनेछ ।
कुन–कुन आयोजना कटौतीमा ?
उद्योग मन्त्रालयले सम्पूर्ण महाशाखा र शाखाहरूको कार्यक्रमहरू रिस्ट्रक्चर गरिरहेको छ । पुँजीगत खर्च कटौतीको रकम निकालिएको भए पनि चालू खर्चको रकम निकाल्न नसकिने मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयको पुँजीगत बजेटबाट १ अर्ब ४ करोड बराबरको योजना कटौती गरिएको छ । मन्त्रालयले औद्योगिक पूर्वाधार विकास कार्यक्रमबाट १ अर्ब ४ करोड कटौती गरेको हो । तर, चालू खर्चबाट बजेट कटौती गर्न नमिल्ने भएकाले मन्त्रालयका सम्पूर्ण शाखाहरूका कार्यक्रम परिमार्जन भइरहेका छन् ।
कटौती भएका आयोजनाहरूमध्ये औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा अन्तर्गतको औद्योगिक पूर्वाधार शाखाको मात्रै रु. ८१ करोड बजेट कटौती भएको छ । यस अन्तर्गत औद्योगिक पहुँच मार्गका रु. ३–३ करोडका १६ वटा योजना, रु. २–२ करोडका ४ वटा, र रु. ४ करोडका ४ वटा आयोजनाहरू रहेका छन् । यसका अतिरिक्त, झापामा निर्माण गरिन लागेको औद्योगिक पार्कका लागि चालू आर्थिक वर्षमा विनियोजन गरिएको रु. २० करोड बजेट पनि कटौतीमा परेको छ । औद्योगिक पहुँच मार्गका रु. ३ करोडभन्दा साना र रु. ३ करोडदेखि रु. २० करोडसम्मका आयोजनाहरू कटौतीमा परेका छन् । साथै, यसै वर्ष घोषणा गरिने भनिएका ४ वटा नयाँ औद्योगिक ग्रामहरूको बजेट पनि कटौती गरिएको छ ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती गर्न तीन करोड रुपैयाँभन्दा कम रकमका टुक्रे आयोजनाहरू रोक्का गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयको पत्राचार अनुसार उद्योग मन्त्रालयले यो कटौती गरेको हो। अर्थ मन्त्रालयका अनुसार सरकारले पुँजीगत खर्चमा रु. १३ सयभन्दा बढी टुक्रे आयोजना कटौती गरेर रु. १ खर्ब २० अर्ब बचत गर्ने लक्ष्य राखेको छ। उद्योग मन्त्रालयले छ महिनाभित्रै नतिजा दिनेगरी योजनाहरूको रिस्ट्रक्चरिङ गरी कार्ययोजना टुङ्ग्याएपछि एक्सन प्लान सार्वजनिक गर्ने तयारी छ ।


