Banijya News

जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : जाला विशेष महाधिवेशनमा ?

1
1.2K Shares

जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। यस बैठकको मूल एजेन्डा पार्टीको आगामी महाधिवेशन रहेको छ, जसले गर्दा अहिले कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा तीव्र विवाद उत्पन्न भएको छ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने प्रस्तावसहित महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेका छन्। उनीहरूले ५१ प्रतिशतभन्दा बढी हस्ताक्षर संकलन भएको दाबी गर्दै आजको केन्द्रीय समिति बैठकअघि नै उक्त प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्यले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने तयारी रहेको जानकारी दिएका छन्। हस्ताक्षर संकलन तथा प्रस्ताव तयार पार्ने काम शेखर कोइरालानिकट गुरु घिमिरेसहितको समूहले अनामनगरमा गरेको थियो। यो समूहले वर्तमान केन्द्रीय पदाधिकारीसहित संघीय केन्द्रीय समिति असफल भएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको थियो।

यसको विपरीत, नेता शेखर कोइरालाले भने मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। उनले कार्यतालिका बनाएर मंसिर मसान्तभित्र नेतृत्व परिवर्तन गर्नेगरी महाधिवेशनको प्रक्रिया अगाडि बढाउने र सम्भव नभएमा केही हप्ता थपेर भए पनि महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव राखेका छन्।

नेपाली कांग्रेसको संस्थापन पक्ष भने वैशाखसम्म गर्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर अगाडि जानुपर्ने पक्षमा देखिएको छ। संस्थापन पक्षले देश संकटमा रहेका बेला पार्टीको महाधिवेशन भन्दा राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने तर्क प्रस्तुत गर्दै आएको छ। महामन्त्रीद्वयको यो अभियानपछि पनि कांग्रेस जेनजी आन्दोलनको समीक्षा, वास्तविक अवस्थाको किटान र अबको गन्तव्य तय गर्ने विषयमा छलफलमा जुट्न नसकेको देखिन्छ। आजको केन्द्रीय समिति बैठकबाट पार्टीले महाधिवेशनको दिशामा के कस्तो निर्णय गर्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ।

1

Scroll to Top