सिन्धुपाल्चोकमा जेनजी आन्दोलनका क्रममा चर्चामा आएको जेनजी समूहले ४५ मेगावाटको भोटेकोसी पावर कम्पनीको १० प्रतिशत सेयर सित्तैमा नपाउने भएको छ। जेनजी समूहका नाममा सित्तैमा दश प्रतिशत सेयर मागेपछि विद्युत् क्षेत्रमा सन्त्रास फैलिएको थियो । भदौ २५ गतेदेखि बन्द भएको आयोजना असोज २६ गते भएको सहमतिपछि पुनः सञ्चालनमा आएको छ। उक्त सहमतिअनुसार जेनजी समूह लगायत स्थानीय प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरले सेयर खरिदको व्यवस्था गरिएको छ।
यसअघि, असोज २ गते जेनजी समूहले भोटेकोसी गाउँपालिका कार्यालय तोडफोड गरी गाउँपालिका प्रमुख पासाङ नुर्प शेर्पाको रोहवरमा सित्तैमा सेयर दिने सहमति गराएको थियो। तर, सित्तैमा सेयर दिने उक्त विषयको देशभरका लगानीकर्ता र अन्य पक्षबाट तीव्र विरोध भएपछि नयाँ सहमति कायम भएको हो। असोज २६ गते प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, ऊर्जा मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर शालिग्राम भण्डारी, गाउँपालिका प्रमुख शेर्पा लगायतको रोहवरमा प्रतिकित्ता १०० रुपैयाँमा सेयर किनबेच गर्ने सहमति भएको छ। इन्जिनियर भण्डारीले यसअघि ‘सित्तैमा’ भनेर प्रचार भएकोमा सत्यता नभएको र यो स्थानीयले पाउने हकअन्तर्गत किनबेचको सहमति भएको स्पष्ट पारेका छन्।
सहमतिअनुसार, भोटेकोसी पावर कम्पनीले आफ्नो १० प्रतिशत सेयर स्थानीय प्रभावितलाई समेटेर स्थापना भएको ‘भोटेकोसी जेनजी पब्लिक इन्भेष्टमेन्ट प्रा.लि.’ नामक पब्लिक कम्पनीलाई १०० रुपैयाँका दरले बिक्री गर्नेछ। सेयर खरिदका लागि उक्त सार्वजनिक कम्पनीलाई ऋण दिलाउन भोटेकोसी पावरले बैंकमा जमानी बस्ने सहमति भएको छ। यो ऋणको साँवा र ब्याज एक वर्षमा वितरण हुने सोही १० प्रतिशत सेयर बराबरको लाभांशबाट चुक्ता गरिनेछ। एक वर्षमा लाभांशबाट ऋण तिर्न नसकेमा भने सार्वजनिक कम्पनीले नै व्यहोर्नुपर्नेछ।
भोटेकोसी पावर कम्पनीमा जेनजी समूहले सित्तैमा सेयर मागेसँगै सिन्धुपाल्चोकका अन्य दुई दर्जनभन्दा बढी आयोजनाका प्रवद्र्धकहरू पनि त्रासमा परेका छन्। जेनजीका नाममा स्वार्थ समूहले सञ्चालनमा रहेका माथिल्लो बलेफी ‘ए’, सोलाङखोला, घट्टेखोला, याम्बलिङ खोला लगायत अन्य निर्माणाधीन आयोजनाहरूको समेत १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग राखी पत्र पठाएका छन्, जसले लगानीकर्ताहरूलाई त्रसित बनाएको छ। भोटेकोसी पावर प्रत्यक्ष वैदेशिक लगानी रहेको कम्पनी हो र यसले सन् २०३० सम्म सञ्चालनको अनुमति पाएको छ।


