राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको सचिवालय विस्तारप्रति केन्द्रीय सदस्य तोसिमा कार्कीले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले शनिबार पार्टीले गरेको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आज सामाजिक सञ्जालमार्फत् एक महिनाअघि नै पार्टीमा दर्ता गराएको पत्र सार्वजनिक गरेकी हुन्।
शनिबार भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय समिति बैठकले सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेपछि रास्वपा सचिवालय संख्या १५ पुगेको छ। प्रवक्ता मनिष झाका अनुसार नयाँ नियुक्त भएका चारैजना नेता विघटित प्रतिनिधि सभाका सदस्य हुन्। झाका अनुसार रास्वपाको विधानले पार्टी सचिवालयमा २५ जनासम्म सदस्य रहने व्यवस्था गरेको छ र पार्टीले कार्कीलाई पनि सचिवालयमा बस्न आग्रह गरे पनि उहाँले मान्नुभएन।
निवर्तमान सांसदसमेत रहेकी कार्कीले सार्वजनिक गरेको पत्रमा आफूहरूले कार्यकारी नेतृत्वमा रिफर्मेसन खोजेको उल्लेख गर्दै सचिवालय विस्तारकाे निर्णयप्रति असन्तुष्टि जनाएकी छन्। पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा निर्णय लिन विस्तारित बैठक बोलाइए सचिवालय विस्तार गरिएको उनको आरोप छ। कार्कीले देशको वर्तमान र भविष्यलाई नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माणका लागि पार्टीको रुपान्तरण आवश्यक रहेको र नेतृत्व, सिद्धान्त, नीति कार्यक्रम सबै आयामको पुनरावलोकन, पुनः मूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनीतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय भएको चार बुँदासहित उल्लेख गरेकी छन्।


