अर्थमन्त्री रामेश्वर खनालले आफू लामो समयदेखि परामर्शदाता रहेको डोल्मा इम्प्याक्ट फन्डलाई भने करोडौं रुपैयाँको पुँजीगत लाभकर छुट दिने निर्णय गरेका छन्। यो निर्णयलाई ’हितको द्वन्द्व’ को स्पष्ट उदाहरण मानिएको छ । सरकारले चालु आर्थिक वर्षमा रु. १ खर्ब २५ अर्बभन्दा बढी पुँजीगत खर्च कटौती गरेपछि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारका साना–ठूला विकास आयोजनाहरू ठप्प भएका छन् । गाउँहरूमा सडक, खानेपानी, विद्यालय भवन र स्वास्थ्य चौकीजस्ता आधारभूत पूर्वाधार निर्माण कार्य रोकिएका छन् । स्थानीय जनप्रतिनिधिहरूले विकास बजेट खोसिएको भन्दै सरकारको चर्को विरोध गरेका छन् ।
मोरिससको ’सेल कम्पनी’ मार्फत लगानी ल्याएको डोल्मा इम्प्याक्ट फन्डले नेपालका १६ कम्पनीमा करिब रु. १५ अर्ब (१०८ मिलियन डलर) लगानी गरेको छ। जलविद्युत्, आईटी, स्वास्थ्य र ई–कमर्स क्षेत्रमा लगानी रहेको यो फन्डले सेयर बिक्री गर्दा हुने नाफामा २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने कानुनी प्रावधान छ । उदाहरणका लागि, डोल्माले मकर जितुमाया सुरी हाइड्रोपावरमा सेयर बिक्री गर्दा करिब रु. २९ करोड ४४ लाख कर तिर्नुपथ्र्यो, जुन रकममा पूर्ण छुट दिइएको छ । श्वेत गङ्गा र सेतीखोला हाइड्रोपावरजस्ता आयोजनामा हुने अर्बौं नाफामा समेत अब कर लाग्ने छैन । अर्थ मन्त्रालयका अनुसार यो छुट पुरानो लगानीमा ६ महिनासम्म लागू हुनेछ, जबकि मोरिसससँगको दोहोरो करमुक्ति सन्धि नै खारेज भइसकेको छ ।
यो निर्णयको सबैभन्दा ठूलो विवाद अर्थमन्त्री खनालको भूमिकामाथि देखिएको छ । उनी डोल्मा इम्प्याक्ट फन्डका लामो समयदेखिका परामर्शदाता हुन् र डलरमा मासिक तलब–भत्ता बुझ्दै आएका थिए। मन्त्री बनेपछि पनि यो सम्बन्ध खुला नगरी उनले आफैंले नेतृत्व गरेको मन्त्रालयबाट डोल्मालाई सोझो फाइदा हुने निर्णय गराए ।
कर विज्ञहरू र पूर्वअर्थसचिवहरूले यो कदमलाई ’पदको दुरुपयोग’ र स्पष्ट ’हितको द्वन्द्व’ बताएका छन्। एक वरिष्ठ अधिकारीका अनुसार खनालले अर्थमन्त्री बन्नुअघि तयार गरेको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनमा पनि प्राइभेट इक्विटी फन्डहरूलाई कर छुट दिने प्रावधान राखिएको थियो, जसले डोल्माजस्ता कम्पनीलाई फाइदा पुग्थ्यो।
पूर्वमन्त्री विद्याधर मल्लिक लगायतका विज्ञहरूले ’सन्धिमा पुँजीगत लाभकर छुटको व्यवस्था नै नभएको’ भन्दै यो निर्णय कानुनविपरीत रहेको तर्क गरेका छन् । एनसेल कर विवादको नजिर हुँदाहुँदै पनि खनालले सन्धिको अपव्याख्या गरेर छुट दिएको आरोप छ ।
जनताको विकास बजेट कटौती गरेर विदेशी फन्डलाई फाइदा दिने यो निर्णयले अन्तरिम सरकारको ’६ महिनाभित्र चुनाव’ को म्यान्डेट र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ । विश्लेषकहरूले यो कार्यले सरकारमाथिको जनविश्वास गुमाउने चेतावनी दिएका छन्, साथै यो मुद्दा अदालतसम्म पुग्न सक्ने सङ्केत पनि दिएका छन् ।


