Banijya News

मधेशमा मन्त्रिपरिषद् विस्तारको हतारो: होटलमै शपथ, तीन दलका एक-एक मन्त्री नियुक्त

1
1.3K Shares

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएको केही बेरमै मन्त्रिपरिषद् विस्तार गरिएको छ। नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लगत्तै तीनजना मन्त्रीहरू नियुक्त गरेका छन्— जसमा नेकपा (एमाले), संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक-एकजना सांसद परेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई बर्दिवासस्थित पानस होटलमै हतार-हतारमा पद तथा गोपनीयताको शपथ गराएकी हुन्। मन्त्री नियुक्त हुनेहरूमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा रहेका छन्। एमाले सांसद शारदा थापाका अनुसार, नियुक्त भएका यी मन्त्रीहरूलाई हालसम्म मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।

यसअघि, प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले गएको शनिबार पदबाट राजीनामा दिएका थिए। सोनलको राजीनामापश्चात्, हिजो साँझ मात्रै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) सहित सात दलले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

तर, यी दलहरूको कडा विरोधका बाबजुद प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) को संसदीय दलका नेताको हैसियतमा आज बिहान हतारमा सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। प्रदेश प्रमुखले यादवको सिफारिसमा संविधानको धारा १६८ (९) अनुसार मन्त्रिपरिषद् गठन गरेकी हुन्।

नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने चुनौती बाँकी नै छ, किनकि उनको नियुक्ति प्रक्रियालाई अन्य प्रमुख दलहरूले असंवैधानिक भएको भन्दै विरोध गरिरहेका छन्। हाल मधेश प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको मात्र एक-एक जना सांसद रहेका छन्।

1

Scroll to Top