Banijya News

१५ वर्षीया टिया आचार्य बेलायतमा काउन्सिलर

1
1.1K Shares

बेलायतमा रहेकी एक गैरआवासीय नेपाली छात्रा युथ काउन्सिलरमा चयन भएकी छन्। हाउन्स्लो बरो अन्तर्गत फेल्थामस्थित रिभर एकेडेमीमा अध्ययनरत १५ वर्षीया टिया आचार्य युथ काउन्सिलर पदका लागि छनोट भएकी हुन्।

सो पदका लागि प्राप्त धेरै आवेदनमध्ये टिया आचार्यको आवेदन उत्कृष्ट रहेको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार विचार, उत्साह र नेतृत्व–सीपलाई स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने क्षमता देखाएकी टिया हाउन्स्लो युथ काउन्सिलकी सदस्य हुन योग्य ठहरिएकी हुन्।

आचार्यलाई नयाँ युथ काउन्सिलरको रूपमा पाउँदा खुसी व्यक्त गर्दै हाउन्स्लो युथ काउन्सिलले उनको सहभागिताले स्थानीय बालबालिका तथा युवाहरूका लागि महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरेको छ।

युथ काउन्सिलरको भूमिका युवाहरूको आवाजलाई स्थानीय प्रशासनसम्म पुर्‍याउने, नीतिगत छलफलमा योगदान गर्ने तथा नेतृत्व विकासका अवसर प्रदान गर्नेमा केन्द्रित हुन्छ। टियाले समुदाय सुरक्षासम्बन्धी हिंसा विरुद्धका अभियान तथा युवा कल्याणसँग जोडिएका महत्त्वपूर्ण परियोजनामा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसबाहेक, उनले हाउन्स्लो बरोको तर्फबाट ‘राष्ट्रिय युथ पार्लामेन्ट’मा समेत प्रतिनिधित्व गर्नेछिन्। पुर्ख्यौली घर बागलुङ भएकी आचार्य नेपालमा एनिमल राइट्स, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि परोपकार र सहयोगी गतिविधिमा पनि सक्रिय रहिएकी छिन्।

1

Scroll to Top