राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले साधारणसभा तथा महाधिवेशनका नाममा करिब १५ लाख ३२ हजार ९३३ रुपैयाँ आर्थिक अनियमितता गरेको छानबिन समितिको प्रतिवेदनले देखाएको छ। महासंघमा आर्थिक पारदर्शिताबारे साझा सहमति कायम गर्न गठन गरिएको समितिले बिल–भर्पाइ, उपस्थितिको हस्ताक्षर तथा वास्तविक खर्चको आधारमा गरेको अध्ययनपछि अनियमितता पुष्टि भएको हो।
समितिका अनुसार २०७९ मंसिर १३ र १४ गते नेपालगञ्जमा गरिएको २१औँ साधारणसभा तथा नवौँ महाधिवेशनमा आचार्यले खाना, खाजा तथा आवास शीर्षकमा ८ लाख ९३ हजार ५०१ रुपैयाँ, र २०८१ पुस १२–१३ गते काठमाडौंमा सम्पन्न २२औँ साधारणसभामा ६ लाख ३९ हजार ४३२ रुपैयाँ अनियमित भुक्तानी गरेका छन्।
छानबिनले सम्झौताभन्दा बढी रकममा खाना र आवास भुक्तानी गरिएको, नसम्झौतामा रहेका होटलबाट भर्पाइ बनाइ रकम भुक्तानी गरिएको, वास्तविकभन्दा बढी सहभागी देखाइ खर्च बढाइएको तथा ४५० पर्ने हाफ प्याकेजको सट्टा ८५० रुपैयाँको फुल प्याकेज भुक्तानी गरिएको जस्ता अनियमितता फेला परेको उल्लेख छ। सहभागी नै नभएका व्यक्तिको नाममा पनि भुक्तानी गरिएको छ।
समितिले महासंघको आर्थिक नियमावलीविपरीत वस्तु तथा सेवा खरिद गर्ने कर्मचारी र नियमविपरीत चेक काटेर भुक्तानी गर्ने पदाधिकारीलाई अनियमितता गरेको ठहर गरी जिम्मेवारी तोक्न सुझाव दिएको छ। साथै, नियमविपरीत बढी भुक्तानी गरिएको रकम महासंघको खातामा फिर्ता गराउनुपर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।
अध्यक्ष आचार्यले भने आरोप अस्वीकार गर्दै २१औँ साधारणसभाको खर्च अघिल्लो कार्यसमितिले गरेको र २२औँ साधारणसभामा कर्मचारी संयन्त्रले खर्च व्यवस्थापन गर्ने भएकाले आफूले अनियमितता नगरेको प्रतिक्रिया दिएका छन्।
महासंघका पदाधिकारीका अनुसार आचार्यमाथि आर्थिक अनियमितता तथा स्वेच्छाचारी क्रियाकलापबारे हेल्लो सरकारदेखि जिल्ला प्रशासन कार्यालयसम्म उजुरी परेको भए पनि कुनै कारबाही नभएको र जिल्ला प्रशासनले उजुरीको फाइल नै रोकेर अध्यक्षलाई संरक्षण भएको आरोप छ। उजुरीमा कार्यसमिति र साधारणसभामा छलफल नगरी एकल निर्णय गर्ने, आर्थिक प्रतिवेदन प्रस्तुत नगर्ने, प्रश्न उठाउने सदस्यलाई निलम्बन गर्ने र प्रदेशका बैंक खाता रोक्का गर्ने जस्ता आरोपसमेत छन्। गत वर्ष २५ माघमा जिल्ला प्रशासनको रोहवरमा भएको पाँचबुँदे सहमति कार्यान्वयन नगरेको आरोप पनि आचार्यमाथि छ।


