आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरू सहभागी रहेको तालिममा सो विषयसँग सम्बन्धित विद्यमान ऐन–नियम, नियमनकारी निकायबाट जारी निर्देशन तथा हालै सार्वजनिक भएका नयाँ कानुनी व्यवस्थाबारे जानकारी दिइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापनदेखि विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीको साझा जिम्मेवारी रहने बताए । कानूनको प्रभावकारी पालना संस्थागत सुशासन सबल बनाउन र ग्राहक तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण हुनेमा उनले जोड दिए ।
त्यसैगरी, तालिम कार्यक्रमको समापन सत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधि निवारणसम्बन्धी कानुनी प्रावधानलाई पूर्णरूपमा पालना गर्दै काम गर्न व्यवस्थापक तथा सबै कर्मचारीलाई निर्देशन दिए ।
कम्पनीका अनुसार, यस्ता तालिमहरूले आन्तरिक नियन्त्रण प्रणालीका साथै नियमनकारी निकायसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


