Banijya News

कस्तो छ प्रतिनिधि सभाको लागि सुरक्षा रणनीति ?

1
1.1K Shares

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल रहनेगरी सुरक्षा तयारी अघि बढाइएको छ । निर्वाचन आयोग, गृह मन्त्रालय र सुरक्षा निकायहरूले पछिल्लो सुरक्षा अवस्था, मतदाताको संख्या तथा अघिल्लो निर्वाचनका अनुभवहरूलाई मध्यनजर गर्दै स्थलहरूको संख्या र सुरक्षा रणनीति तय गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले १० हजार ९२६ मतदानस्थल रहनेगरी एक चरणको छलफल सम्पन्न भएको र यो प्रारम्भिक तयारी रहेको बताए । उनका अनुसार आवश्यक परे यस संख्यामा केही थपघट हुन सक्नेछ ।

सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ । सुरक्षा निकायहरूको रिपोर्टको आधारमा ३ हजार ५१८ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ५२९ मतदानस्थल संवेदनशीलको सूचीमा र २ हजार ८७९ मतदानस्थल सामान्यको सूचीमा परेका छन् । तराईका जिल्लाहरूमा रहेका मतदानस्थलहरू विशेषगरी अति संवेदनशील र संवेदनशीलको सूचीमा बढी परेका छन् । अति संवेदनशील स्थलहरूमा सोही अनुपातमा थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।

मतदान केन्द्रको व्यवस्थापन
मतदानस्थलसँगै २२ हजार ३०४ मतदान केन्द्र रहने गरी तयारी गरिएको छ । यो संख्यामा पनि अन्तिम निर्णय हुन बाँकी छ । यी केन्द्रहरूमध्ये ७ हजार १५० केन्द्र अति संवेदनशील, ९ हजार ३२० केन्द्र संवेदनशील र ५ हजार ८३४ केन्द्र सामान्य सूचीमा राखिएका छन् ।

सेनासहित तीन घेराको सुरक्षा
मतदान स्थल र केन्द्रहरूको सुरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गर्ने योजना बनाइएको छ । भित्री घेरामा म्यादी प्रहरी, गुप्तचर र नेपाल प्रहरी खटिनेछन् । मध्य घेरामा सशस्त्र प्रहरी बलको टोली परिचालन हुनेछ । बाहिरी घेरामा भने नेपाली सेना खटिनेछ, जसको परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृति प्राप्त भइसकेको छ ।

निर्वाचन सुरक्षा व्यवस्थापनका लागि १ लाख ३२ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसपटक उनीहरूलाई ’निर्वाचन सुरक्षा प्रहरी’ भनिनेछ । उनीहरूलाई प्रहरी जवान सरहको सेवा सुविधा र तलब दिएर ४० दिनका लागि भर्ना गर्ने तयारी छ ।

यसपटक सुरक्षा संवेदनशीलता बढ्नुमा केही जटिल कारणहरू जिम्मेवार रहेको विश्लेषण सुरक्षा निकायले गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका ५ हजारभन्दा बढी कैदीबन्दी अझै बाहिरै रहनु, प्रहरीका लुटिएका १ हजार २७१ हतियारमध्ये करिब आधा र ९८ हजार लाइभ राउन्ड गोली अझै फेला नपर्नुले सुरक्षा चुनौती थपिएको छ । यही जटिल अवस्थालाई ध्यानमा राखी मतदानस्थलहरूलाई वर्गीकरण गरिएको बताइएको छ ।

1

Scroll to Top