अमेरिकामा स्थायी बसोबास अनुमति (PR) पाएर विगत ३० वर्षदेखि बसिरहेका एक नेपालीसहित ७५ जना नेपाली नागरिकलाई अमेरिकाले निष्कासन (डिपोर्ट) गरेको छ । बिहीबार चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याइएको हो । पिआर नवीकरण नभएपछि निष्कासनमा परेका उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले बताए । बिहीबार उनीसहित ७५ जना नेपाली नागरिक निष्कासनमा परेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
चार्टर्ड विमान मार्फत फर्काइएकाहरूलाई सोधपुछ गरेर पठाइएको एसएसपी पङ्गेनीले बताए । डिपोर्ट भएका मध्ये दुई जना भिजिट भिसामा गएर लुकेका र ७२ जना अवैध तवरले तल्लोबाटो हुँदै अमेरिका छिरेकाहरू छन् । उनीहरूमध्ये ७२ जना पुरुष र ३ जना महिला छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएपछि अहिलेसम्म ६६६ जना अमेरिकाबाट फर्काइएका छन् ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म ४३९ जना जना नेपाली निष्कासनमा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रारम्भिक सोधपुछ गरी घर पठाएको छ। तीमध्ये अमेरिका पठाउने नाममा आफूहरूलाई ठगी गर्ने गिरोहविरुद्ध ३ जनाले ब्युरोमा किटानी जाहेरी समेत दिएका छन्। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको एसएसपी पङ्गेनीले जानकारी दिए।


