Banijya News

दुई दशकमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा, ’भर्चुअल’ प्रणालीमा भने आगामी बर्ष जाला ?

1
1.1K Shares

नेपालमा निर्यात प्रवद्र्धन र व्यापार घाटा कम गर्ने उद्देश्यले स्थापना गरिएको विशेष आर्थिक क्षेत्र (सेज) को अवस्था दयनीय भएपछि सरकारले यसलाई ’भर्चुअल’ (डिजिटलाइजेसन) प्रणालीमा लैजाने गृहकार्य सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस सम्बन्धी प्रस्तावलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेट्ने तयारी गरेको हो। अर्थविद् एवं सरकारी अधिकारीहरूले सेजको झन्झटिलो प्रशासनिक प्रक्रिया सुधार्न ’भि–सेज’ (भर्चुअल सेज) अवधारणा उपयुक्त हुने ठहर गरेका छन्।

यसका लागि सहसचिव शम्भुप्रसाद मरासिनीको संयोजकत्वमा गठित ७ सदस्यीय अध्ययन समितिले गत मंसिर १६ गते आफ्नो प्रतिवेदन बुझाइसकेको छ। देशकै ठूलो औद्योगिक पूर्वाधार संरचनाको अवधारणामा निर्माण गरिएका विशेष आर्थिक क्षेत्र(सेज)लाई भर्चुअल रूपमा लैजान मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल नै बनाएर अध्ययन भइरहेको छ । कार्यदलमा लगानी बोर्डका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव, सेजका कार्यकारी निर्देशक छत्रबहादुर कटुवाल र एक जना उपसचिव रहेका छन् । प्रतिवेदनले सेजबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउन सुझाव दिएको छ। विशेषगरी उद्योगीहरूले आयात–निर्यातका लागि विभिन्न सरकारी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न डिजिटल प्रणाली अनिवार्य देखिएको हो। यो प्रणाली कार्यान्वयनका लागि उद्योग, अर्थ र सञ्चार मन्त्रालयबीच त्रिपक्षीय सहकार्य आवश्यक हुने बताइएको छ।

प्रारम्भिक चरणमा केही निश्चित उद्योग र उत्पादनहरूलाई नमुनाका रूपमा डिजिटल प्लेटफर्ममा आबद्ध गरिनेछ। ’भि–सेज’ कार्यान्वयन गर्न विशेष आर्थिक क्षेत्र ऐन २०७३ मा संशोधन गरी कानुनी आधार तयार गर्नुपर्ने समितिको निष्कर्ष छ। यसका साथै बलियो साइबर सुरक्षा, डाटा संरक्षण ढाँचा र प्रभावकारी एकद्वार सेवा प्रणालीको विकासमा जोड दिइएको छ। सूचना प्रविधिलाई प्राथमिकता दिँदै आईटी पार्क र आईटी हबहरूलाई पनि यसै प्रक्रियामा उपयोग गर्न सकिने सुझाव दिइएको छ।

विदेशी कम्पनीहरूलाई आकर्षित गर्न शतप्रतिशत विदेशी लगानीको अनुमति र लाभांश फिर्ता लैजाने प्रक्रिया सहज बनाउनुपर्ने देखिन्छ। गैरआवासीय नेपालीहरूलाई विदेशमै बसेर लगानी गर्न प्रोत्साहन गर्ने नीति समेत प्रतिवेदनमा उल्लेख छ। सेज प्राधिकरणलाई थप स्वतन्त्र र अधिकारसम्पन्न बनाई दक्ष जनशक्ति व्यवस्थापन गर्नु अर्को प्रमुख चुनौती हो। डिजिटल पूर्वाधार निर्माण गर्दा कर, नवीकरण र शुल्क भुक्तानीलाई एउटै संयन्त्रमा अन्तरआबद्ध गरिनेछ।

नेपालमा सेजको अवधारणा सुरु भएको दुई दशक बितिसक्दा पनि हालसम्म भैरहवा र सिमरामा गरी दुईवटा मात्र सेज सञ्चालनमा आएका छन्। पाँचखालमा तेस्रो सेज निर्माणाधीन अवस्थामा छ भने अन्य प्रदेशका प्रस्तावित आयोजनाहरू अझै अध्ययनकै चरणमा छन्। अर्बौँको लगानी बालुवामा पानी जस्तै भएको र संरचनाहरू अलपत्र परेकाले नयाँ मोडेलको आवश्यकता महसुस गरिएको हो।

कैलालीको हरैया, जुम्ला, गोरखा र झापा जस्ता स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) र विस्तृत परियोजना प्रतिवेदन (म्एच्) को काम भइरहेको छ। जग्गा विवाद र कानुनी जटिलताका कारण सेज निर्माणको गति सुस्त देखिएको प्राधिकरणका अधिकारीहरूको स्वीकारोक्ति छ। २०७३ सालमा प्राधिकरण स्थापना भए पनि यसले अपेक्षित व्यावसायिक सफलता पाउन सकेको छैन।

यसरी परम्परागत भौतिक संरचनामा मात्र भर नपरी प्रविधिमैत्री ’भि–सेज’ मार्फत औद्योगिक सुरक्षा र लगानीकर्ताको मनोबल बढाउने सरकारको लक्ष्य छ। आगामी आर्थिक वर्षदेखि यसलाई तीव्रता दिई व्यापार घाटा न्यूनीकरणमा ठोस योगदान पु¥याउने योजना बनाइएको छ। नयाँ प्रणाली सफल भएमा नेपालको निर्यात क्षेत्रमा डिजिटल रूपान्तरणको सुरुवात हुने अपेक्षा गरिएको छ।

सरकारले स्थापन गरेको पहिलो सेज भैरहवामा सञ्चालन भइरहेको छ । यस सेज निर्माणको काम २०७२ सालमा सम्पन्न भई २०७५ सालदेखि कलकारखानाहरू खोल्न प्रक्रिया अगाडि बढाइएको थियो । हाल उक्त ५२ बिघामा फैलिएको भैरहवा सेजमा १५ वटा उद्योगहरू स्थापना भएका छन् । उक्त सेजमा करिब ३० उद्योगहरू चल्न सक्ने क्षमता रहेको छ ।

भैरहवा सेजमा लाइट बनाउने उद्योगदेखि स्टिलका भाडा बनाउने, प्लास्टिक रिसाइकल गर्ने, ग्रेनाइड उत्पादन गर्ने, ब्याट्रीहरूको बिड प्रशोधन गर्ने लगायतका उद्योगहरू सञ्चालनमा रहेका छन् ।

नेपालको दोस्रो सेज सिमरामा सञ्चालन भइरहेको छ । करिब ५६४ हेक्टरमा फैलिएको सिमरा सेज डेढ वर्षअघि २०८० सालामा सञ्चालनमा आएको हो । हालसम्म उक्त सेजमा ३० वटा उद्योगहरूले खोल्नका लागि दर्ता भइसकेको र ५ वटा उद्योगहरू सञ्चालन भइरहेका छन् । चार ब्लकमा छुटाइएको सिमरा सेजको ए ब्लक पूर्ण रूपमा सञ्चालन भइरहेको छ । बी ब्लको निर्माणको काम करिब आधा भइसकेको छ । ब्लक सी र डी को डीपीआर बनेर कम्पाउन्ड वाल बनाउने काम अगाडि बढिरहेको छ ।

सिमरा सेजमा टायल उत्पादन, जुत्ता उत्पादक, ग्रेनाइट, प्लास्टिक बोर्ड, किचेन सामग्री, कस्मेटिक, मल उत्पादन गर्नेलगायत उद्योगहरू बनिरहेका छन् ।

काठमाडौंदेखि नजिकै रहेको पाँचखाल सेजको निर्माणको काम भइरहेको छ । २०७४ सालदेखि पाँचखालमा सेज निर्माणको काम अगाडि बढाइएको थियो । जुन अहिले सार्वजनिक निजी साझेदारीका लागि लगानी बोर्डलाई हस्तान्तरण गरिएको छ । ५० हेक्टरमा बनाउन लागेको पाँचखालस्थित सेज उत्तरी चीनको नाकासँग ७० किलोमिटरको दुरीमा रहेको छ ।

1

Scroll to Top