नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने क्रममा थप १ अर्ब ३० करोड १२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) कायम गरिदिएपछि बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सुरुमा आफ्नो अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा जम्मा १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको थियो, तर राष्ट्र बैंकको कडा निर्देशनपछि उक्त रकम बढेर कुल २ अर्ब ७२ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसरी प्रोभिजन रकम दोब्बरले वृद्धि हुँदा बैंकको बाह्य लेखापरीक्षणअघिको ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ नाफा खुम्चिएर ३ अर्ब २० करोड ८ लाख रुपैयाँमा झरेको छ ।
खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोडबाट सामान्य बढेर ८ अर्ब ९१ करोड पुगे पनि कर्जाको जोखिम व्यवस्थापनमा देखिएको कमजोरीले नाफालाई प्रत्यक्ष असर पारेको देखिन्छ। नाफासँगै बैंकको सञ्चित अर्थात् शेयरधनीलाई बाँड्न मिल्ने वितरणयोग्य नाफा पनि २ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको निष्क्रिय कर्जा सुरुमा ५.५६ प्रतिशत दाबी गरिएकोमा अन्तिम लेखापरीक्षणपछि ५.८१ प्रतिशत पुगेको छ भने पुँजी पर्याप्तता अनुपात ११.३३ प्रतिशत कायम भएको छ ।
बैंकले २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेको छ भने ब्यालेन्स सिटको कुल आकार ३ खर्ब १६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १६.५० रुपैयाँमा झरेको यो बैंकलाई अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा पनि केन्द्रीय बैंकले ३९ करोड रुपैयाँ थप प्रोभिजन राख्न लगाएको थियो। यसरी लगातार दुई वर्षसम्म अपरिस्कृत विवरण र अन्तिम प्रतिवेदनमा नाफाको ठूलो अन्तर देखिनुले बैंकको आन्तरिक लेखापरीक्षण र वित्तीय पारदर्शितामा गम्भीर प्रश्न खडा गरेको छ ।
नियामकले औंल्याएको यो कमजोरीले बैंकको संस्थागत सुशासन फितलो रहेको र नियामकिय निर्देशनहरूको पालनामा उदासीनता देखिएको पुष्टि गर्दछ । लगानीकर्ताहरूका लागि सार्वजनिक गरिने अपरिस्कृत विवरण र अन्तिम विवरणमा यस्तो विशाल अन्तर हुँदा शेयर बजारमा गलत सूचना प्रवाह हुने जोखिम बढ्छ । बैंकले वास्तविक जोखिम लुकाउन खोज्दा लगानीकर्ताहरू सही सूचना पाउनबाट वञ्चित भएका छन्, जसले वित्तीय विवरणको विश्वसनीयतामाथि नै शङ्का उब्जाएको छ ।
अन्ततः प्राइम बैंकको यो अवस्थाले बैंकिङ क्षेत्रमा कर्जाको गुणस्तर र जोखिम व्यवस्थापनमा कडाइ गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ । राष्ट्र बैंकको यो हस्तक्षेपले बैंकहरूलाई आफ्ना वित्तीय विवरणहरू थप जिम्मेवार र यथार्थपरक बनाउन दबाब दिएको छ । यस्तो वित्तीय विचलनले भविष्यमा लगानीकर्ताको मनोबल गिराउन सक्ने र बैंकको बजार साखमा नकारात्मक असर पर्न सक्ने देखिएको छ ।


