Banijya News

बुद्ध एयर दुर्घटना अपडेट: ६ जना उपचारपछि डिस्चार्ज, सहचालकको उपचार जारी

1
1.1K Shares

भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको विमान अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए ।

घाइते हुनेहरूमा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ, भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन् ।

घाइते सबैलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्काल उद्धार गरी भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमै उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेको प्रहरीले जनाएको छ ।

उक्त विमान शुक्रबार राति ८ः२३ बजे काठमाडौंँबाट उडेको थियो र राति ९ः१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको थियो । प्रहरीले सबै यात्रुलाई जहाजबाट सकुशल बाहिर निकाल्न सफल भएको जनाएको छ ।

1

Scroll to Top