नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अहिले सभापति शेरबहादुर देउवा निवास महाराजगन्जमा पुगेका छन् । बिहान आफ्नै टिम, त्यसपछि महामन्त्रीद्वयसँगको छलफल, त्रिपक्षीय वार्ता टोलीसँगको छलफलपछि देउवा अहिले शेखर कोइरालासँगको छलफलमा छन् । यस अगाडि सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका छाड्न नमानेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको थियो । यता संस्थापन पक्षधर नेताहरू केन्द्रीय कार्यसमितिको बैठक बस्न सदस्यहरू सानेपा जान थालेका छन् । सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको हो ।
देउवासँग वान-टु-वान वार्ता गर्न महामन्त्रीद्वय पुगेपनि देउवा निवासमा संस्थापन र शेखर कोइराला पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल पनि पुगेका छन्। विशेष महाधिवेशन पक्षधरले संस्थापनसँग यो नै अन्तिम वार्ता हुने बताउँदै आएका छन्। महामन्त्रीद्वय र देउवाबिच सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढ्ने विशेष महाधिवेशनको नेतृत्व गरिरहेका नेता गुरु घिमिरेले जानकारी दिए।
‘हामीले महाधिवेशनको समय लब्याएर विभिन्न चरणमा वार्ता गर्यौं । लगातारको वार्ता निष्कर्ष बिहीन बनेको छ । अस्ति, हिजो दिउँसो, साँझ र राति पनि छलफल भयो । सहमति हुन्छ कि भनेर हामीले महाधिवेशनका प्रक्रिया अगाडि बढाउन ढिलाई गरेका छौं। तर विशेष महाधिवेशन प्रतिनिधिका माग पूरा गर्न उहाँहरु तयार हुनुभएन । बैठकले सार्थकता पाउन सकेन।’ घिमिरेले भने,‘अन्तिम प्रयासस्वरुप महामन्त्री र सभापतिबीचको छलफलपश्चात सहमति भए एकता हुन्छ । नत्र अब निर्वाचन प्रक्रिया र नयाँ नेतृत्व चयनलाई रोक्न सकिने अवस्था छैन । एकता हुने जस्तो देखिँदैन ।’
सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने भएको छ । संस्थापन पक्षले पनि विशेष महाधिवेशन पक्षधरसँग महाधिवेशन प्रतिनिधिको बहुमत नरहेको दाबी गर्दै सबै माग पूरा गर्न आवश्यक नभएको बताउँदै आएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान पनि केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर बोलाइएको छ। मंगलबार बसेको बैठकमा महामन्त्रीद्वय लगायत विशेष महाधिवेशन पक्षधरका केन्द्रिय सदस्य उपस्थित भएका थिएनन् ।
सभापति शेरबहादुर देउवासँग आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलसमेत सहमतिमा नपुगेपछि भृकुटीमण्डपमा निर्वाचनका कार्यक्रम अघि बढाइएको छ । उता केन्द्रीय कार्यसमिति बसेर महामन्त्रीहरूको कारबाही गर्ने तयारी संस्थापन पक्षले गरेको छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशन नीतिका विषयमा मात्रै नभई नेतृत्व बदल्नका लागि समेत भएको भन्दै त्यसको सम्मानका लागि पार्टी हाईकमाण्डबाट चलाउन सहमत हुनुपर्ने प्रस्ताव गरेका थिए । ‘अहिलेको समयलाई बुझ्नुस्। जेन–जी आन्दोलनको भावनालाई बुझ्नुस् । निर्वाचनमा कोसँग प्रतिस्पर्धा गर्नुपर्ने छ, त्यसलाई बुझेर निर्णय लिनुस् । तपाईंको सम्मान पनि हुने र नेतृत्व बदलिएको सन्देश पनि जाने गरी हाईकमाण्डबाट पार्टी सञ्चालन गर्ने प्रस्ताव ल्याइएको,’ महामन्त्रीको भनाइ थियो, ‘निर्वाचन नभएको भए यो अवस्था सिर्जना हुन्थेन । धेरै कुरा निर्वाचनसँग जोडिएको छ । जनताको भावना किन नबुझ्नुभएको ? बाहिरको परिस्थिति अर्को खालको छ । यसलाई बुझेर निर्णय लिनुस् ।’
दुई महामन्त्रीसँगको छलफलमा संस्थापन पक्षका नेताहरू बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए । देउवाले तीन महिनापछि आफू १५औँ महाधिवेशनबाट नेतृत्व छाड्न तयारै भएकाले अहिल्यै नेतृत्व छाड्ने विषयमा सहमति हुन नसकिने बताएपछि महामन्त्रीहरू त्यहाँबाट निस्किएका थिए ।
नेता लेखकले हाईकमाण्ड बनाउने र निर्वाचन नलड्ने विषय मंगलबारकै बैठकमा विशेष महाधिवेशनपक्षधर नेताहरूले छाडिसकेको दाबी गरे । ‘प्रमुख कुरा टिकटमा सभापतिले हस्ताक्षर नगर्ने भन्ने विषय थियो । त्यसमा पनि निर्वाचन आयोगलाई सोध्यौँ । कानुन र नियमले हुने रहेछ भने म हस्ताक्षर फिर्ता लिन तयार छु भनेर सभापतिज्यूले भन्नुभयो । तर, उहाँहरू मान्नुभएन ।’


