मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिने पुँजीगत (विकास) खर्चको अवस्था चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुस मसान्त) सम्म आइपुग्दा निकै निराशाजनक देखिएको छ । सरकारले विकास निर्माणका लागि छुट्याएको बजेट खर्च गर्न नसक्दा यस वर्षको पुँजीगत खर्च पछिल्लो पाँच वर्षयताकै न्यून बिन्दुमा झरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आधा समय सकिँदा वार्षिक लक्ष्यको जम्मा १२.२७ प्रतिशत मात्र खर्च भएको छ । यसले सरकारको कार्यक्षमता र विकासप्रतिको प्राथमिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ कुल ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर, पुस मसान्तसम्म जम्मा ४९ अर्ब ४२ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । गत भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनपछि मुलुकको राजनीतिक परिदृश्य बदलिएको छ । वर्तमान सरकारको मुख्य प्राथमिकता आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सम्पन्न गराउनु रहेको छ । तर, निर्वाचनको चटारोका बीच आर्थिक विकास र बजेट कार्यान्वयनको पाटो भने पूर्णतः उपेक्षित बनेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले पनि पुँजीगत खर्च कमजोर हुनुमा ‘जेनजी’ आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरतालाई एउटा मुख्य कारण मानेका छन् । यद्यपि, उनले आगामी दिनमा खर्चमा सुधार आउने दाबी गरेका छन् । तर, अर्थ मन्त्रालयले ‘सहजीकरण मात्र गर्ने’ भन्दै पन्छिन खोज्दा कार्यान्वयन गर्ने निकायहरू थप सुस्त बनेका छन् ।
पूर्व अर्थसचिव भानुप्रसाद आचार्यका अनुसार वर्तमान सरकार एक प्रकारको ‘ट्रयाप’ (पासो) मा परेको छ । एकातिर नेपाल राष्ट्र बैंकले बजारमा पैसा बढी भयो (तरलता) भनेर निरन्तर प्रशोचन गरिरहेको छ, भने अर्कोतर्फ सरकारले विकास खर्च गरेर बजारमा पैसा पठाउन सकिरहेको छैन । आचार्य भन्छन्, “यो विरोधाभासपूर्ण स्थिति हो । निर्वाचन केन्द्रित सोचले गर्दा विकासका आयोजनाहरू प्राथमिकतामा परेनन् । पुँजीगत खर्च नहुनु भनेको पुँजी निर्माण नहुनु हो, जसले सिधै आर्थिक वृद्धिलाई असर गर्छ ।”
उनका अनुसार हाल नेपालसँग वैदेशिक मुद्रा सञ्चिति बलियो हुनु सकारात्मक पक्ष भए पनि त्यसलाई पूर्वाधार क्षेत्रमा उपयोग गर्न नसक्नु सरकारको कमजोरी हो । ढुकुटीमा पैसा थन्क्याएर मात्र अर्थतन्त्र चलायमान हुँदैन । पुँजीगत बजेटको ठुलो हिस्सा ओगट्ने ‘विकासे मन्त्रालय’ हरू नै यो मन्दीको मुख्य जिम्मेवार देखिएका छन् । भौतिक पूर्वाधार, सिँचाइ, ऊर्जा तथा जलस्रोत, सहरी विकास र खानेपानी जस्ता मन्त्रालयहरू, जसले प्रत्यक्ष रूपमा निर्माणका काम गर्छन्, उनीहरूको खर्च गर्ने क्षमतामा ह्रास आएको छ ।
आयोजना प्रमुखहरूको छिटो-छिटो सरुवा, ठेक्का व्यवस्थापनमा रहेका कानुनी जटिलता र आयोजनाको पूर्वतयारी बिना नै बजेट विनियोजन गर्ने पुरानो रोग यस पटक झन् बल्झिएको विज्ञहरूको ठहर छ । पुँजीगत खर्च १२ प्रतिशतमा खुम्चिनु सरकारका लागि मात्र नभई समग्र मुलुकका लागि चिन्ताको विषय हो । अब सरकारले केवल ‘निर्वाचन’ लाई मात्र बहाना बनाएर बस्ने छुट पाउँदैन । पूर्व सचिव आचार्यले सुझाव दिए झैँ, आयोजनामा रहेका कमजोरी पहिचान भइसकेका छन्, अब तिनलाई समाधान गर्ने राजनीतिक इच्छाशक्ति आवश्यक छ ।
यदि बाँकी ६ महिनामा युद्धस्तरमा काम नहुने हो भने, यो आर्थिक वर्ष नेपालको इतिहासमै सबैभन्दा कमजोर विकास खर्च भएको वर्षका रूपमा दर्ज हुने निश्चित छ । अर्थतन्त्रलाई शिथिलताबाट जोगाउन र पुँजी निर्माणलाई तीव्रता दिन सरकारले विकासे मन्त्रालयहरूलाई जवाफदेही बनाउनै पर्छ ।
आर्थिक वर्ष पुँजीगत खर्च प्रतिशत
२०८२–८३ ४९ अर्ब ४२ करोड १२.१२
२०८१–८२ ५७ अर्ब ४१ करोड १६.२९
२०८०–८१ ४९ अर्ब ६ करोड १६.४२
२०७९–८० ५३ अर्ब ४५ करोड १४.०५
२०७८–७९ ५१ अर्ब ३८ करोड १३.५९
२०७७–७८ ५१ अर्ब ४० करोड १४.५७
स्रोतः महालेखा नियन्त्रक कार्यालय


