नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यू) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा बदनाम गराउने ’फेक रेस्क्यू’ (नक्कली उद्धार) सम्बन्धी ठगी धन्दाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले पर्दाफास गरेको हो ।
सिआइवीले साढे दुई महिनाको लामो र सघन अनुसन्धानपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस गिरोहको विस्तृत विवरण सार्वजनिक गरेको हो । यससँगै नेपालको हिमाली पर्यटन र पदयात्रा क्षेत्रमा वर्षौदेखि जकडिएको संस्थागत भ्रष्टाचार र ठगीको जालोलाई उजागर गरेको छ ।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीका अनुसार, हिमाली क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकहरूलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि गम्भीर देखाएर हेलिकप्टरमार्फत नक्कली उद्धार गर्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो । सन् २०१८ मा पनि यस्तै किसिमको घोटाला सार्वजनिक भए पनि त्यतिबेला ठोस कानुनी कारबाही हुन सकेको थिएन । तर, २०८२ असोजयता प्राप्त नयाँ उजुरी र विदेशी सञ्चारमाध्यमहरूले नेपालमा करिब ३५ प्रतिशत उद्धार कार्य ‘फेक’ हुने गरेको रिपोर्ट प्रकाशित गरेपछि सीआईबीले छुट्टै कार्यदल नै गठन गरेर अपरेसन चलाएको थियो ।
प्रहरीले यस ठगी धन्दामा संलग्न तीनवटा मुख्य कम्पनी र तिनका ६ जना सञ्चालक तथा कर्मचारीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया छन् । त्यस्तै, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक सुभाष केसी पनि छन् । प्रहरीका अनुसार उनीहरुले बढी कमाइ गर्ने उदेश्यले यस्तो कार्य गर्दे आएको खुलेको हो ।
ठगीको कार्यशैली
अनुसन्धानका क्रममा यस गिरोहले निकै योजनाबद्ध ढंगले ठगी गर्ने गरेको पाइएको छ । उनीहरूले सामान्य समस्यालाई ‘सिकनेस’ बनाउने गरेको पाइएको छ । उच्च हिमाली क्षेत्रमा पर्यटकलाई हुने सामान्य टाउको दुखाइ वा थकानलाई ’एक्युट माउन्टेन सिकनेस’ को संज्ञा दिने र पर्यटकलाई डराएर हेलिकप्टर बोलाउन बाध्य पार्ने गरेका थिए ।
अर्को ठगी फर्जी कागजात तयार गर्ने रहेको थियो । पर्यटकको स्वास्थ्य अवस्था सामान्य भएपनि अस्पतालहरूसँगको मिलेमतोमा गम्भीर बिरामी भएको नक्कली मेडिकल रिपोर्ट र उपचार बिल बनाउने गरिएको थियो । त्यस्तै चार्टर उडानलाई रेस्क्यूमा बदल्ने गरिएको थियो । सामान्य चार्टर उडानलाई पनि बिमा दाबी गर्न सजिलो होस् भन्नका लागि उद्धार उडानमा रूपान्तरण गर्ने गरिएको थियो । त्यसैगरी, एउटै हेलिकप्टर उडानमा धेरै पर्यटक बोक्ने तर बिमा कम्पनीहरूसँग दाबी गर्दा भने प्रत्येक पर्यटकका लागि छुट्टाछुट्टै उद्धार उडान गरिएको भनी बिल पेस गर्ने गरिएको थियो । पर्यटकलाई रेस्र्कु गर्ने नाममा ट्रेकिङ गाइड, एजेन्सी र अस्पतालका प्रतिनिधिहरू बीच ठूलो रकमको कमिसन लेनदेन हुने गरेको पाइएको प्रहरीले सार्वजनिक गरेको छ ।
पर्यटन क्षेत्रमा पर्ने असर र कानुनी प्रक्रिया
यो घटना केवल आर्थिक ठगी मात्र नभई नेपालको अन्तर्राष्ट्रिय साखसँग जोडिएको विषय हो । विदेशी बिमा कम्पनीहरूले नेपालमा हुने उद्धारमा शंका गर्न थालेपछि वास्तविक समस्यामा पर्ने पर्यटकहरूले भविष्यमा बिमा सुविधा नपाउने वा नेपाल भ्रमण गर्दा बिमा शुल्क (एचझष्गm) महँगो हुने जोखिम बढेको छ । डा. केसीले पक्राउ परेकाहरूलाई ‘राष्ट्रहित विपरीतको गतिविधि’ मा संलग्न भएको अभियोगमा कडा मुद्दा चलाइने जानकारी दिएका छन् । “यो नेपालको पर्यटन छविलाई धमिल्याउने अक्षम्य अपराध हो । हामी प्रमाणका आधारमा यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि छिट्टै कानुनी दायरामा ल्याउनेछौं’’– उनले भने ।
पर्यटन मन्त्रालयले पनि यस विषयमा छानबिन समिति गठन गरेको छ । हालसम्म प्राप्त उजुरीहरू र संकलित प्रमाणका आधारमा यो अनुसन्धान अझै फराकिलो बनाएको जनाएको छ ।
फेक रेस्क्यूको यो जालो तोडिनु नेपालको पर्यटन उद्योगका लागि एक सकारात्मक कदम हो । तर, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले हेलिकप्टर उद्धारको स्पष्ट कार्यविधि बनाउनु पर्ने र अस्पतालदेखि ट्रेकिङ एजेन्सीसम्मको अनुगमनलाई कडा बनाउनुपर्ने आवश्यकता भने देखिएको छ ।
सीआईबीले सार्वजनिक गरेको तथ्यांक अनुसार यी तीनवटा कम्पनीले मात्रै कुल १९.६९ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको शंकास्पद बीमा दाबी गरेको पाइएको छ।
सबैभन्दा बढी माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १,२४८ जनामध्ये १७१ जनाको उद्धारलाई शंकास्पद देखाएर १ करोड ३ लाख १० हजार २७६ डलर दाबी गरेको छ । त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धारमा ७५ जनाको फेक रेस्क्यू गरी ८२ लाख ३४ हजार ८२ डलर र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ मध्ये ७१ जनाको शंकास्पद उद्धार देखाएर ११ लाख ५३ हजार ९१९ डलर दाबी गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ। सीआईबीले सार्वजनिक गरेको तथ्यांकअनुसार ठगीको परिमाण अर्बौंमा रहेको देखिन्छ । तीनवटा कम्पनीको विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ:कम्पनीको नाम कुल उद्धार संख्या फेक रेस्क्यू संख्या दाबी गरिएको रकम (अमेरिकी डलर) माउन्टेन रेस्क्यू सर्भिस १,२४८ जना १७१ जना $ १,०३,१०,२७६ (करिब १ करोड ३ लाख) नेपाल चार्टर सर्भिस ४७१ जना ७५ जना $ ८२,००,००० (८२ लाख) एभरेस्ट एक्स्पेरेन्स ६०१ जना ७१ जना $ ११,५३,००० (करिब ११ लाख ५३ हजार)


