नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १४ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यस अगाडि नेपाली बजारमा एकैदिन तोलामा साढे २० हजारले सुनको मूल्य बढ्यो । माघ १५ मा बढेको यो हालसम्मकै उच्च दर हो । बृद्धिसँगै नेपाली बजारमा तीन लाख ३९ हजार ३०० रुपैयाँ पुग्यो । तर, त्यसको भोलिपल्ट शुक्रबार (माघ १६) तोलामा साढे २० हजारले नै घटेर तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भयो । दुई दिनमै कित यत्तिको उछारचढाव ? पछिल्लो एक वर्षयता सुनको मूल्य घट्नेभन्दा प्रायः बढ्ने प्रवृत्ति छ । तर, दुई सातायता दिनमै साढे २० हजार रुपैयाँले बढ्ने र घट्ने भयो । यही साताको सुनको मूल्य हेर्ने हो भने मूल्यमा ठूलै उचारचढाव देखिन्छ । तुलनात्मक रूपमा नेपाली बजारमा सुनको मूल्य आन्तरिक नभई अन्तर्राष्ट्रिय कारणले बढेको व्यवसायी बताउँछन् । सुनको मूल्य दैनिक ठूलो आकारमा वृद्धि हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय आर्थिक गतिविधि र विश्वका धनाढ्यले यसमा लगानी गर्नु रहेको जानकार बताउँछन् ।
सुनको मूल्यबृद्धि हुनु अन्र्तराष्ट्रि बजारमा भएको खेलपनि हो । अन्र्तष्ट्रिय बित्त बजारमा जानकारहरुका अनुसार अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर अझै घटाउने संकेत गरेका कारण विश्वबजारमा सुनको मूल्यमा प्रत्यक्ष प्रभाव परेको हो । अमेरिकाकै नीतिमा आधारित रहेर विश्वभरका धनाढ्य व्यक्तिहरूले क्रिप्टोकरेन्सीजस्ता विदेशी मुद्राहरूको सट्टा सुन किनेर स्टक (भण्डारण) गर्ने योजना बनाएकाले पनि मूल्यमा अचानक वृद्धि आएको हो । उनीहरुका अनुसार विश्वका ठूला लगानीकर्ता र धनाढ्यहरूले सुरक्षित लगानीका रूपमा सुनलाई रोज्दै ठूलो परिमाणमा खरिद गर्न थालेकाले बजारमा यसको माग र मूल्य दुवै बढेको हो ।
मूल्य हालसम्मकै उच्च भएको दिन (माघ १५) देशभित्रको ‘बैंकिङ प्रणाली’मा ६७ किलो सुन रहेको संघका अध्यक्ष अनिल शर्माले जानकारी दिए । त्यसको अघिल्लो साता प्रणालीमा १२० किलो सुन थियो । व्यवसायीका अनुसार, हाल समग्र सुन कारोबार सुस्त छ । सुनको व्यापार हुने खासै सिजन नभएकाले पनि कारोबारमा कमी आएको व्यवसायी बताउँछन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आ.व. ०८२÷८३ को ६ महिनासम्म नेपालमा १९ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको सुन आयात भएको छ । यो गत आ.व.को सोही अवधिको तुलनामा १९३.१३ प्रतिशतले बढी हो । गत आ.व.को ६ महिनामा ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँको सुन आयात भएको थियो ।
नेपालको कुल आयातमा सुनको हिस्सा २.१ प्रतिशत छ । पछिल्लो प्रवृत्ति हेर्दा सुन आयात परिमाणमा भन्दा रकममा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले महँगोमा खरिद गर्दा आयातको रकम बढी देखिएको व्यवसायीहरू बताउँछन् ।
अधिकांश विकसित राष्ट्रहरूले सुन भण्डारलाई स्थिर राखेका छन् भने चीन र टर्कीजस्ता अर्थतन्त्रले आफ्नो भण्डारमा थप लगानी पनि गरिरहेकै कारण पनि अन्र्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो । विश्वव्यापी आर्थिक अनिश्चितताबीच सुन अझै पनि सुरक्षित सम्पत्तिका रूपमा पहिलो रोजाइमा पर्दै आइरहेको देखिन्छ ।
‘ग्लोबल सोभरेन गोल्ड रिजभ्र्स’को रिपोर्ट अनुसार शीर्ष १० राष्ट्रहरूको सूचीमा अमेरिकाले सबैभन्दा बढी सुन राखेको छ । यस्तै, केही एसियाली मुलुकले पनि आफ्नो भण्डारमा सुन थपेका कारण पनि बजारमा सुनको मूल्य बढेको हो ।
हाल उच्च मूल्यवृद्धिका कारण देशमा सुनको माग घटेर बजार सुस्त भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । पछिल्लो समय सुनको मूल्यवृद्धिसँगै नेपाली बजारमा यसको कारोबारमा प्रत्यक्ष असर परेको छ । मूल्य बढेका कारण सुनको माग र कारोबारमा पहिलेको तुलनामा मन्दी आएको व्यवसायी बताउँछन् ।
सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई हुन्छ । हाल दैनिक २५ किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था छ । सुन व्यवसायीको छाता संगठनको सिफारिसमा व्यापारीले खरिद गर्छन् । यसको सहजीकरण वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गर्छ ।


