नेपालको दूरसञ्चार क्षेत्रको सरकारी निकाय नेपाल टेलिकमभित्र प्रशासनिक र नैतिक प्रश्न चुलिँदै गएको छ । संस्थाका नायब प्रबन्धक तथा हालका वित्तीय प्रमुख राजेन्द्र अर्यालको नागरिकता र जन्ममितिमा देखिएको दोहोरो विवरणका कारण टेलिकम प्रशासन र कर्मचारी वृत्तमा तनाव उत्पन्न भएको हो ।
राजेन्द्र अर्यालले प्रयोग गर्दै आएको नागरिकतामा दुईवटा फरक–फरक जन्ममिति पाइएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा कडा चासो देखाएको छ । प्राप्त जानकारी अनुसार, अर्यालको वास्तविक उमेर र सरकारी अभिलेखमा रहेको उमेरबीच भिन्नता देखिएपछि अख्तियारले उनलाई सोधपुछ र छानबिनका लागि पत्राचार समेत गरिसकेको छ ।
कुनै पनि निजामती वा सरकारी संस्थानको कर्मचारीका लागि व्यक्तिगत विवरणमा हुने यस्तो त्रुटि वा नियतवश गरिएको फेरबदललाई गम्भीर जालसाजी मानिन्छ । यस घटनाले संस्थाको पारदर्शिता र उच्च पदस्थ कर्मचारीहरूको नैतिकतामाथि ठुलो प्रश्न चिन्ह खडा गरिदिएको छ । यो विवाद यस्तो समयमा सतहमा आएको छ, जब अर्याल नेपाल टेलिकमको रिक्त रहेको महाप्रबन्धक ( पदका लागि कडा प्रतिस्पर्धामा छन् । संस्थाको सर्वोच्च कार्यकारी पदमा निमित्त पाएर पुग्ने आकांक्षा राखेका अर्यालका लागि यो छानबिन ‘तगारो’ बन्ने निश्चित देखिएको छ । अख्तियार उच्च स्रोतका स्रोतका अनुसार उनीमाथिको छानबिन अगाडि बढने हो भने संस्थाको नेतृत्व सम्हाल्न असक्षम हुनेछन् ।
अर्याल केवल जन्ममिति विवादमा मात्र घेरिएका छैनन् । नेपाल टेलिकमको जटिल र संवेदनशील मानिने बिलिङ प्रणालीमा भएको भनिएको अनियमिततामा समेत उनको नाम जोडिएको छ । वित्तीय प्रमुखको जिम्मेवारीमा रहेका कारण बिलिङ प्रक्रियामा हुने आर्थिक चलखेल वा प्राविधिक त्रुटिको जिम्मेवारी उनीमाथि आउने गर्दछ । यसअघि नै बिलिङमा समस्या देखिएको भन्दै परेका विभिन्न उजुरीहरूमा पनि उनीमाथि आन्तरिक र बाह्य छानबिन भइरहेको खुल्न आएको छ ।
नेपालकै ठुलो करदाता र गौरवको रूपमा रहेको नेपाल टेलिकममा देखिएको यो पछिल्लो प्रकरणले संस्थाको गरिमालाई धुमिल बनाएको छ । एकातिर नागरिकता जस्तो संवेदनशील विषयमा अख्तियारको पत्र र अर्कोतिर आर्थिक प्रणालीमा देखिएको त्रुटीले अर्यालको करियर मात्र होइन, टेलिकमको भावी नेतृत्व चयन प्रक्रियालाई पनि अन्योलमा धकेलेको छ । यस विषयमा थप सत्यतथ्य छानबिन पछि मात्रै अर्यालको पद र भविष्यको फैसला हुने देखिन्छ ।


